साढे १० खर्बको वैदेशिक व्यापारमा ९ खर्ब घाटा


“
गएको आर्थिक वर्ष २०७३–०७४ मा विभिन्न मुलुकहरुसँग १० खर्ब ५८ अर्ब रुपैयाँको व्यापार भएकोमा घाटामात्रै ९ खर्ब ९ अर्ब रुपैयाँ भएको छ । अघिल्लो आर्थिक वर्षमा व्यापार घाटा ७ खर्ब ४ अर्ब रुपैयाँ थियो, जसमा कुल वैदेशिक व्यापार ८ खर्ब ४४ खर्ब रुपैयाँको भएको थियो । यो घाटा गएको वर्षको सोहि अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।
राजश्व विभागले दिएको जानकारी अनुसार गएको वर्ष मुलुकबाहिरबाट ९ खर्ब ८४ अर्ब रुपैयाँको आयात गरिएकोमा निर्यात ७४ अर्ब ७१ करोड रुपैयाँको मात्र निर्यात भएको देखिन्छ । जसअनुसार निर्यातभन्दा आयात १३ गुणाभन्दा बढी रहेको छ ।
त्यस्तै, कुल व्यापारमध्ये विभिन्न मुलुकबाट हुने आयातको हिस्सा ९२.९ प्रतिशत छ । निर्यातको हिस्सा ७.१ प्रतिशतमात्र रहेको छ ।
तुलनात्मक रूपमा हेर्ने हो भने अघिल्लो वर्ष गएको वर्षको तुलनामा निर्यातको अनुपात राम्रो देखिएको छ । विभागको अनुसार अघिल्लो आर्थिक वर्ष निर्यातभन्दा आयात ११ गुणा बढी थियो । त्यस्तै, कुल व्यापारको तुलनामा आयातको हिस्सा ९१.७ देखिन्छ भने निर्यातको हिस्सा ८.३ प्रतिशत रहेको छ । गएको वर्ष मुलुकमा खनिजजन्य, पेट्रोलिम पदार्थलगायत सबैभन्दा बढी एक खर्ब ४० अर्ब रुपैयाँ मूल्यबराबरको भित्रिएको छ ।
त्यस्तै, फलाम तथा स्टिल र तिनका उत्पादन ९३ अर्ब ७१ करोड रुपैयाँको, सवारी साधन र त्यसका पार्टपूर्जा साढे ७९ अर्ब, इलेक्ट्रिकल, मेसिनरी र त्यसका पार्टपुर्जा ७० अर्ब र खाद्यान्न ४० अर्ब रुपैयाँको भित्रिएको छ ।
निर्यातमा सबैभन्दा बढी ७ अर्ब ६३ करोड रुपैयाँको कार्पेट तथा अन्य टेक्सटाइल भएको छ । चिया, कफी तथा मसलाहरु ७ अर्ब, तरकारी, फलफूल तथा विभिन्न बिरुवाहरु ५ अर्ब रुपैयाँको निर्यात भएको विभागले जनाएको छ ।
“
