गच्छदार भिजन नभएको नेताः भगवती चौधरी

मङ्सिर ७, सुनसरी । नेकपा एमाले सुनसरी क्षेत्र नं. ३ की प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले जनताको जिवनस्तर सुधार्न आर्थिक संवृद्धिलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । सुनसरी क्षेत्र नं. ३ को चुनावी प्रचारप्रसार अभियानका क्रममा सो क्षेत्रका विभिन्न स्थानमा गरिएको घरदैलो कार्यक्रममा मतदाताहरुलाई सम्बोधन गर्दै महिला अधिकारवादी नेतृ चौधरीले राज्यसत्तामा पुग्ने व्यक्तिले जनताको आर्थिक विकासका लागि सही योजना निर्माण नगर्दा सो क्षेत्रका जनताहरू अझैपनि गरिबीको रेखामुनि बस्न बाध्य रहेको जिकिर गर्नुभएको हो ।


सुनसरी–३ दुहवी भलुवा पासवान टोलमा महिलाहरूलाई सम्बोधन गर्दै नेतृ चौधरीले चार दशकदेखि राज्य सत्तामा रहेकाले यहाँका जनताको आर्थिक, सामाजिक, सांस्कृतिक विकासमा केही नगरेको भन्दै आफूलाई एक पटक राज्य सत्तामा पु¥याए ५ वर्षमा यो क्षेत्रको विकास गरेर देखाउने दाबी गर्नुभयो । ‘तपाईहरुले पटकपटक जसलाई सत्तामा पु¥याउनु भयो, त्यसले यो क्षेत्रको विकास भन्दा पनि आफ्नो व्यक्तिगत विकासमा मात्र ध्यान दिएको छ, अब पनि हामीले त्यही व्यक्तिलाई शासन सत्तामा पु¥याउने हो भने यो क्षेत्रको विकास हुनै सक्दैन ।’– उहाँले भन्नु भयो ।
जनताको जिवनस्तर सुधार्नका लागि आर्थिक विकास अपरिहार्य रहेको र त्यसका लागि नेकपा एमालेको नेतृत्वमा बाम गठबन्धनको बहुमतीय सरकारका आवश्यक्ता रहेको औल्याउँदै नेकपा एमालेले देश विकासको लागि आर्थिक विकास, सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउनु भयो । उहाँले यो क्षेत्रबाट विभिन्न कालखण्डमा विभिन्न पार्टीबाट उठेर मन्त्री भएका व्यक्तिले कुनै पनि क्षेत्रको विकासमा ध्यान नदिएको दाबी गर्नुभयो । ‘यहाँबाट नेतृत्व गरेर गएको व्यक्ति पटकपटक सत्तामा गएर मन्त्री भएको छ, उसले आफ्नो व्यक्तिगत विकास बाहेक, यहाँको कृषि, सिचाई, यातायात, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगार कुनै पनि क्षेत्रको विकासमा केही गरेको छैन । त्यस्ता व्यक्तिलाई पुनः सत्तामा पु¥याईयो भने, हामी कहिल्लै अघि बढ्दैनौं ।’ उहाँले भन्नु भयो ।

नेतृ चोधरीले आफूले प्रतिनिधिसभा निर्वाचनमा जितेर गएको अवस्थामा ५ वर्ष भित्र यो क्षेत्रको विकासमा कायापलट गर्ने भन्दै आफूले युवा महिलाहरूलाई आत्मनिर्भर गराउन र शिक्षाका लागि गुणस्तरीय विश्वविद्यालय, कलेज स्थापना गर्न, गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पताल निर्माण गर्न र रोजगार मूलक शिक्षाका लागि प्राविधिक विषयका कलेज खोल्न विशेष पहल गर्ने बताउनु भयो ।
नेकपा एमालेकी केन्द्रीय सदस्य समेत रहनुभएकी चौधरीले विगतमा चुनाव जितेर गएका विजयकुमार गच्छदारले यो क्षेत्रलाई मरुभूमी बनाएको बताए । ‘उहाँले यहाँका जनतालाई प्रयोग गरेर मन्त्री बन्ने सपनामात्र देख्नु भएको छ, यहाँको विकास र संवृद्धि देख्नु भएको छैन ।’ उहाँले विजयकुमार गच्छदारसँग जनतालाई आर्थिक संवृद्धि तर्फ डोर्याउने कुनै योजना नभएको दाबी गर्दै यदि भिजन भएको नेता भए १२÷१२ पटकसम्म मन्त्री हुँदा पनि यो क्षेत्रका विकास किन गर्न नसकेको भन्दै प्रतिप्रश्न गर्नुभयो ।
चौधरीले गच्छदारले रक्सी, मासु र पैसाको बलबाट जनतालाई प्रलोभनमा पारेर चुनाव जित्ने सपना देखेको भन्दै अब त्यस्ता दिनहरू सकिएको ठोकूवा गर्नुभयो । ‘विगतमा जस्तो रक्सी, मासु र पैसा दिएर अब चुनाव जितिन्न, जनताले तपाईँलाई चिनिसके ।’ उहाँले भन्नु भयो ।


घरदैलो कार्यक्रममा बोल्दै प्रदेश नं. ३ (ख) का उम्मेदवार रामदेव यादवले २५ वर्षदेखि एउटै व्यक्ति मन्त्री भए पनि गाउँको मुहार नफेरिएको भन्दै आक्रोश व्यक्त गरे । उनले देशभर बाम गठबन्धनको बहुमत आउने दाबी गर्दै वैज्ञानिक शिक्षा, आर्थिक, सामाजिक, राजनीतिक समानताका लागि पनि नेकपा एमालेको सरकार बन्नुपर्ने बताउनु भयो । घरदैलो कार्यक्रममा सो क्षेत्रका पाँच दर्जन बढी महिला पुरुषहरू अन्य राजनीतिक पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 11 =