साउदी जेलबाट भुसाललाई छुटाउन ४५ लाख ‘ब्लड मनी’ संकलन

काठमाडौं, पुस २० । साउदी अरबमा चार वर्षदेखि जेल जीवन बिताइरहेका नवलपरासी, मध्यबिन्दुका थानेश्वर भुसालको जीवनरक्षाका लागि आवश्यक रकम ‘ब्लड मनी’ जुटेको छ ।
मध्यबिन्दु नगरपालिका, नवलपरासीका भुसाल विसं २०६७ असोजमा साउदी अरब गएका थिए । साउदीमा चालकको काम गर्ने क्रममा त्यहाँ गएको १० महिनापछि उनको गाडीलाई पछाडिको गाडीले ठक्कर दिँदा अगाडि रहेको गाडीमा गएर ठोक्किँदा अगाडिको गाडीमा रहेका एक साउदी नागरिकको मृत्यु भएको थियो ।
सो घटनामा साउदी अदालतले एक लाख ५० हजार रियाल अर्थात् करिब रु ४५ लाख बढी रकम तिर्नुपर्ने अन्यथा आजीवन काराबासको सजाय भोग्नुपर्ने फैसला गरेको थियो । भुसालको आर्थिक अवस्था कमजोर रहेका कारण ‘ब्लड मनी’बापतको रकम तिर्न नसक्ने अवस्थालाई ध्यानमा राखी वैदेशिक रोजगारका क्षेत्रमा काम गर्दै आएको संस्था प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) ले भुसालको परिवारसँगको समन्वयमा सो रकम जुटाउन कोष खडा गरी अभियान नै शुरु गरेको थियो ।

कोषमा देश विदेशबाट गरी रु ४५ लाख ८५ हजार २४३ जुटेकाले अब सहयोग उठाउने कार्य बन्द गरिएको पिएनसिसीका अध्यक्ष कुलप्रसाद कार्कीले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, ‘कोषको नाममा रहेको खातामा रु २३ लाख १५ हजार २४३ जम्मा भइसकेको छ ।
कोषमा जम्मा नभए पनि रु २२ लाख २७ हजार विभिन्न निकाय र संघसंस्थाले दिने घोषणा गरेका छन् । यो रकम जोड्दा ४५ लाखभन्दा बढी हुन्छ ।’ पिएनसिसीका महासचिव सोमा लामिछानेले कोषमा जम्मा भएको रकम नेपाल सरकारलाई हस्तान्तरण गरी भुसाललाई नेपाल फर्काउन प्रक्रिया शुरु गरिने जानकारी दिए ।
साउदी नागरिकको मृत्युपछि त्यहाँको अदालतको सुनुवाइका क्रममा भुसाल र गाडीलाई पछाडिबाट ठक्कर दिने गाडीका चालक गरी दुई जनाले गरी साउदी रियाल तीन लाख अर्थात् करिब रु ९० लाख नेपाली तिर्नुपर्ने फैसला अदालतले गरेको थियो । अदालतको फैसलाअनुरुप भुसालले क्षतिपूर्तिबापतको आधा ४५ लाख तिर्नुपर्ने र नतिरेमा आजीवन जेलजीवन बिताउनुपर्ने थियो ।








