‘एजले होईन, एजेन्डाले लिड गर्नुपर्छ’ : शर्मा

काठमाडौं, पुस ३० । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको नेतृत्व एज(उमेर)ले नभइ एजेन्डाले गर्नुपर्ने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा प्रवक्ता शर्माले ७० कटेका बुढा नेता रिटायर्ड हुनुपर्छ भन्नु अतिवादी सोच भएको प्रष्ट पारे ।

उनले भने, “७० वर्ष कटेका पार्टी नेता राजनीतिबाट रिटायर्ड हुनुपर्छ र त्यो नै अहिलेको सन्दर्भमा बेस्ट मेडिसिन हो भन्ने केही साथीहरुलाई लाग्यो, मैले त्यसैबेला राजनीतिलाई एज (उमेर) ले होइन एजेण्डाले ड्राइभ गर्छ भनेको थिएँ । त्यसैले ७० कटेकाले छाड्नुपर्छ, यति कटेकाले बस्नुपर्छ भन्ने भन्दा पनि एजेण्डाले ड्राईभ गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।”

पार्टीले हालै सम्पन्न निर्वाचनमा व्यहोरेको हारको आवेगमुक्त भएर समीक्षा गर्नको लागि तत्काल केन्द्रीय कार्य समितिको बैठक बस्ने उनले बताए । उनले भने, “केन्द्रीय कार्यसमिति बैठक चाँडै बस्छ, हामी आन्तरिक गृहकार्यमा जुटिसकेका छौं, प्रवक्ताको हैसियतमा म फेरि भन्छु, केन्द्रीय कार्यसमिति बैठक बस्छ, कार्यसमितिको बैठकपछि महासमिति हुँदै विशेष महाविधेशनसम्म जान सकिन्छ ।”

पार्टी पराजयको बारेमा गम्भीर समीक्षा गर्नुपर्ने र पार्टीलाई पुनर्जिवन दिलाउनको लागि अब बस्ने कार्य समितिको बैठकले ठोस निर्णय लिने पनि विश्वास दिलाए ।

उनले कांग्रेस अब रुपान्तरण हुने स्पष्ट पारे । शर्माले थपे, “हामी बदलिन्छौं, आवेगमुक्त भएर समीक्षा गर्छौं, किनकी कांग्रेसले पहिलोपटक हार व्यहोरेको होईन, त्यसैले बिरामीलाई पहिले अस्पताल पुर्याउनुपर्छ, अनिमात्रै सही डाईगनोशिस हुन्छ, अस्पताल नै नलगेर घरमै राखेर मेडिसिन दिन थालियो भने सही डाईग्नोशिस हुन सक्दैन ।”

एमाले–माओवादी केन्द्रबीचको वाम गठबन्धन भत्काउन प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव नगरिएको उनले जिकिर गरे । उनले थपे, “हामी शुभकामना दिन्छौं, उहाँहरुवीच एकता होस्,”–उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =