१४ औँ ललित अम्बर डिपो कप मङ्सिर ८ गतेबाट सुरु

भरतराज शर्मा (गोपाल), धरान । १४ औँ जिल्ला स्तरीय ललित–अम्बर डिपो कप फुटबल प्रतियोगिता आउँदो मङ्सिर ८ देखि धरानमा सुरु हुने भएको छ । डिपो उच्चमाविको आयोजनामा हुने प्रतियोगिता आगामी मङ्सिर १५ गतेसम्म सञ्चालन हुनेछ ।

धरान, इटहरी, तरहरा क्षेत्र लगायतका गरी १६ वटा टिमको सहभागिता रहने आयोजक डिपोट उमाविका प्राचार्य राजकुमार राईले शुक्रवार गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।त्यस्तै, सोही खेलमा पहिलो चरणमा पराजित टिमले पुनः प्लेट च्याम्पियनसिप उपाधिको लागि समेत खेल्ने अवसर पाउने कार्यक्रमका सम्योजक भीमराज लिम्बुले जानकारी दिए ।

विजेताले रनिङ शिल्डसहित नगद पुरस्कार १० हजार पाउनेछ भने उपविजेताले नगद ५ हजार र तृतीयले नगद ३ हजार पाउनेछ । यसै गरी, प्लेट च्याम्पियनसिपतर्फ पनि पुरस्कार बढाएर विजेतालाई शील्ड सहित ३ हजार र उपविजेतालाई २ हजार दिइनेछ । विद्यालय व्यावस्थापन समितिका अध्यक्ष श्रवणकुमार लिम्बूको अध्यक्षतामा प्रतियोगिताको उद्घाटन हुनेछ भने प्रतियोगिताको कुल खर्च ३ लाख ५६ हजार ६ सय रुपैयाँ हुने आयोजकले जनाएको छ ।








