सातै प्रदेशमा मुख्यमन्त्री बन्न आकांक्षीहरुको दौडधुप सुरु

काठमाडौं, माघ ११ । प्रदेश सभा सदस्यको सपथ सँगै प्रदेश सरकार निर्माणको तयारी शुरु भएको छ । सात वटै प्रदेशमा सरकार निर्माणको गृहकार्यमा प्रमुख दलहरु सक्रिय हुँदै गर्दा मुख्यमन्त्रीको टिकट पाउन नेताहरुको रस्साकस्सी सुरु भएको छ ।

प्रदेश प्रमुखले पहिलो संसद बैठकको मिती तोक्ने तयारी गरिरहँदा मुख्यमन्त्रीको टिकट पाउनका लागि नेताहरुको दौडधुप सुरु भएको छ । चुनावी नतिजा अनुसार प्रदेश नम्वर २ बाहेकका ६ वटै प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने देखिन्छ । तर ६ वटामा मुख्यमन्त्रीको भागबण्डामा एमाले र माओवादीबीच सहमती जुटिसकेको छैन ।

द्विपक्षीय बाँडफाँड मात्रै नभएर दल भित्रैपनि आकांक्षी बढी हुँदा मुख्यमन्त्रीको टुंगो लगाउन दलहरुलाई सकस हुने देखिएको छ । एमालेले पाउने निश्चित भएको प्रदेश नम्वर १ मा स्थायी समिती सदस्य तथा प्रदेश इन्चार्ज भीम आचार्य र पोलिटब्यूरो सदस्य एवम प्रदेश सहइन्चार्ज शेरधन राईले मुख्यमन्त्रीमा दाबेदारी पेस गरेका छन् । दुवै नेताले टिकट पाउन शक्तिकेन्द्र धाइरहेका छन् । पूर्व मन्त्री समेत रहेका शेरधन राई मुख्यमन्त्री पाउनेमा ढुक्क देखिन्छन् ।

प्रदेश नम्वर ३, ४ र ५मा एमालेले मुख्यमन्त्री बनाउने पक्का छ भने ७ नम्वर माओवादीको भागमा छ । प्रदेश नम्वर ५को मुख्यमन्त्रीमा एमाले नेता शंकर पोखरेल निर्विकल्प देखिएका छन् । ६ मध्ये माओवादी केन्द्रले प्रदेश नम्वर ६ र ७मा आफुले मुख्यमन्त्री पाउनु पर्ने माग गरिरहेको छ । तर एमाले ५० प्रतिशत मत एमालेको मात्रै भएको भन्दै प्रदेश नम्वर ६ नछाड्ने बताइरहेका छन् ।

एमालेका यामलाल कँडेल र प्रकाश ज्वाला मुख्यमन्त्री बन्न कसरथ गरिरहदा माओवादीका महेन्द्र बहादुर शाहीले एमाले माओवादीको ६० ४०को भागबण्ड मिलाउदाँ ६ नम्वर प्रदेश आफ्नो पार्टीको भागमा पर्ने देख्नुहुन्छ । मुख्यमन्त्रीका लागि एउटा उम्मेदवार आफु पनि रहेको नेता शाहीको भनाइ छ ।

त्यसोत माओवादी केन्द्रबाट महेन्द्र शाही मात्रै एक्ला प्रतिष्पर्धी होइनन् । नरेन्द्र भण्डारीपनि मुख्यमन्त्रीको टिकट पाउन शिर्ष नेताकोमा धाइरहेका छन् । यता, प्रदेश नम्वर ३ मा एमालेबाट मुख्यमन्त्री बन्न अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे र पशुपती चौलागाइबीच कडा प्रतिष्पर्धा देखिएको छ । अझ प्रदेश नम्वर ४का लागि किरण गुरुङ र पृथ्वी सुब्बा गुरुङबीचको प्रतिष्पर्धा झन पनि झन घोचक बन्दै गएको छ ।

यस्तै प्रदेश नम्वर २मा राजपा र फोरमले संयुक्त रुपमा प्रदेश सरकार बनाउने निश्चित छ । तर मुख्यमन्त्री फोरमले लिने या राजपाले भन्नेमा औपचारिक सहमती जुटिसकेको छैन । फोरमले मुख्यमन्त्री पाउने संभावना बढी देखिएको अवस्थामा लालबाबु राउत र विजय यादवबीच प्रतिष्पर्धा छ ।

त्यसो त राजपा नेपालका मनिष सुमन, जितेन्द्र सोनल र रामनरेश राय यादवको नाम पनि मुख्यमन्त्रीको दावेदारको रुपमा लिइएको छ । प्रदेश संसदको पहिलो बैठकले सञ्चालन कार्यबिधि पास गरेपछि मात्रै मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख उपसभामुख चयनको प्रक्रिया अघि बढ्छ । त्यसका लागि संसदको पहिलो बैठकको मिती प्रदेश प्रमुखले तोक्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 3 =