एएफसी एसियन कपमा नेपालको सम्भावना कस्तो छ ?

काठमाडौँ – एएफसी एसियन कप २०१९ को छनोट चरण अन्तर्गत मंगलबार भएको खेलमा नेपाल र यमनले गोलरहित बराबरी खेले । पहिलो खेलमा फिलिपिन्ससँग ४-१ ले पराजित भएको नेपालले यस बराबरीसँगै छनोटमा अंकको खाता पनि खोल्यो ।

समूह चरणमा शीर्ष २ स्थानमा रहने टोलीले २०१९ मा संयुक्त राज्य इमिरेट्समा हुने एएफसी एसियन कपमा सहभागिता जनाउन पाउने प्रावधान रहेको छ । समूह ‘एफ’ मा फिलिपिन्स, यमन र ताजिकिस्तानसँग रहेको नेपाल २ चरणको खेल समाप्त हुँदा १ अंक सहित तेश्रो स्थानमा छ। शीर्ष स्थानमा २ खेल जित्दै ६ अंक जोडेको फिलिपिन्स छ भने दोश्रो स्थानमा ४ अंक बोकेको यमन रहेको छ। दुवै खेलमा पराजित भएको ताजिकिस्तानले अहिलेसम्म खाता खोलेको छैन र तालिकाको पुछारमा रहेको छ ।

४ खेल खेल्न बाँकी रहेको अवस्थामा नेपालले अब अर्को खेल सेप्टेम्बर ५ तारिखमा ताजिकिस्तानसँग घरेलु मैदानमा खेल्नेछ । सम्भवत: उक्त खेल पनि हलचोक स्थित एपीएफ रंगशालामा खेलिने सम्भावना बढ्दो छ । नेपालले त्यसपछि सोहि टोलीसँग अक्टोबर १० तारिखमा ताजिकिस्तान पुगेर चौथो खेल खेल्नेछ ।

नोभेम्बर १४ मा फिलिपिन्सलाई घरेलु मैदानमा निम्त्याउने नेपालले समूहको अन्तिम खेल यमनसँग खेल्नेछ । यमनसँगको खेल भने कतारको दोहामा हुने भएको छ । उक्त खेल सन् २०१९ को मार्च २७ तारिखका दिन हुनेछ ।

समूहको अंक तालिकाको शीर्ष २ स्थानमा रहन सकेको खण्डमा नेपाल पहिलो पटक एसियन कपको लागि छनोट हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =