शिक्षक खुर्सिद अन्सारी सहिद घोषणा, नेपाल प्रहरीका तीन डीअाइजी बढुवा

“
असोज ५, काठमाडौं । बिहिबार भारतीय सार्पसुटरबाट सुनियोजित हत्या गरिएका सुनसरीका शिक्षक खुर्सिद अन्सारीलाई सरकारले सहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मुस्लिम अगुवा अन्सारीलाई सहिद घोषणा गरी रु १० लाख क्षतिपुर्ति दिने निर्णय समेत गरेको सरकारका प्रवक्ता सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटाले बताए ।
यस अघि दिउसो स्थानीय सुरक्षा समितिले पिडित परिवार र सरोकारवालासँगको वार्तामा अन्सारीलाई सहिद घोषणा गर्न र रु १० लाख क्षतिपुर्ति दिलाउने लगायतका ८ बुँदे सहमति भएको थियो ।
हिजो विहान पौने ११ बजे सुनसरीको हरिनगरा स्थित आफ्नै विद्यालयको ब्यवस्थापन समितिको बैठक बसेर घर जानेक्रममा सिमावर्ति क्षेत्रबाट भारतीय मोटरसाइकलमा सवार चार जनाले अन्सारीलाई विच बाटोमा गोली प्रहार गरि हत्या गरेका थिए ।
यसैगरी आजको मन्त्रिपरिषद्ले नेपाल प्रहरीका तीन डीआईजीलाई प्रहरी अतिरीक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ ।
बैठकले बढुवा सिफारिस समितिको सिफारिसअनुसार पुस्कर कार्की, ठूले राई र धिरु बस्नेतलाई एआईजी बढुवा गरेको हो । कार्की पहिलो, राई दोस्रो र बस्नेत तेस्रो नम्बरमा सिफारिस भएका थिए ।
बढुवासँगै कार्कीलाई प्रहरी हेडक्वार्टरको कार्य तथा अपराध अनुसन्धान विभागमा, राईलाई मानव स्रोत तथा प्रशासन विभागमा र बस्नेतलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन गरिएको जनाएको छ ।
आजकै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । भने, माथिल्लो अरुण आयोजना सरकारको स्वामित्वमा रहने गरी विद्युत प्राधिकरणमार्फत बनाउने २०६९ फागुन ४ को निर्णय संशोधन गर्दै प्राधिकरणको सहायक कम्पनी अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीमार्फत बनाउने निर्णय गरेको छ ।
यसैगरी उर्जा तथा यातायात क्षेत्रका आयोजना कार्यान्वयनका लागि २०७४ मा भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन कम्प्याक्टको प्रावधान बमोजिम त्यस अन्र्तगतका आयोजनाहरुलाई राष्ट्रिय गौरबका आयोजनाका रुपमा मान्यता दिने निर्णय गरेको छ । खासगरी देश भित्र र बाहिर विद्युत लैजाने ग्रिड जोड्ने निर्णय भएको छ ।
उक्त परियोजना अनुसार काठमाडौंको लप्सीफेदी देखि धादिङको रातामाटे र दमौली देखि वुटवल विद्युत ग्रिड जोड्ने निर्णय गरेको छ । यो परियोजना अमेरिकी सरकारले प्रदान गरेको ५० अर्ब बराबरको सहयोगबाट निर्माण गरिने भएको छ ।
यसैगरी, माथिल्लो अरुण जलविद्युत आयोजना नेपाल सरकार मातहत रहनेगरि विद्युत प्राधिकरण मार्फत कार्य गराउन सैद्धान्तिक स्विकृति दिने ०६९ फागुन ४ को पूर्वनिर्णयलाई संसोधन गरी उक्त आयोजना विद्युत प्राधिकारणको सहायक कम्पनीको रुपमा गठित अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लि. मार्फत निर्माण गर्न स्विकृत गरेको छ ।
नागरिक उड्ययन प्राधिकरण सञ्चालन नियम सम्बन्धि नयाँ नियम ल्याउन स्विकृत गर्ने निर्णय गरेको छ । जसमा प्राधिकरण सञ्चालन र नियमन गर्ने छुट्टाछुट्टै नियम ल्याउन स्विकृत गरेको हो ।
सरकारले अनुसन्धान प्रतिष्ठान नामको थिंक ट्यांक समूह बनाउने निर्णय गरेको छ जसको संयोजक प्रा.डा. चैतन्य मिश्रलाई बनाइएको छ। प्रतिष्ठानका सदस्यहरुमा डा. मिना आचार्य, प्रा. डा. राजेन्द्रध्वज जोशी, प्रा. डा. सुरेन्द्र लाभ र डा. गणेशमान गुरुङ रहने छन् ।
मन्त्रिपरिषदले ५० अर्बका भन्दा बढीको आयोजनालाई राष्ट्रिय आयोजनाको मान्यता दिने निर्णय गरेकाे छ । भने, मुक्त कमैया तथा हलिया पुनःस्थापनाबारे दुबै आयोग संसोधन गरिने भएको छ। कर्मचारीहरुका सन्दर्भमा ४ हजार कर्मचारीलाई तल्लो तहमा दरबन्दी मिल्दो काम दिन सामान्य प्रशासन मन्त्रालयलाई स्विकृत दिएको छ।
“








