‘गणेश थापाले फुटबलको स्तर खस्काए’ पूर्व प्रशिक्षक

पुस २०, पोखरा । पोखराका कृष्ण थापाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधवार पोखरामा आयोजित पत्रकारहरुमा आफ्नो उमेदवारी घोषणा गर्दै पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक थापाले फुटबल खेलको विकास र विस्तार गर्दै फुटबल खेलमा देखिएको विकृति हटाउन आफूले उमेदवारी दिने निर्णय गरेको बताए ।

उनी एन्फाका पूर्व प्राविधिक निर्देशक, राष्ट्रिय टिमका पूर्व प्रमुख प्रशिक्षक र अन्तर्राष्ट्रिय खेलाडी समेत हुन् । थापाले आफू फुटबलको तल्लो स्तरबाट उच्च पदसम्म विभिन्न जिम्मेवार वहन गर्दै अघि बढेर अनुभव बटुलेको बताए ।
‘मैले विभिन्न सानो ठुलो जिम्मेवारी सम्हालेर अनुभव बटुलेको छु, भर्खरै सरकारी सेवाबाट निर्वित पनि भएँ, अब, नेतृत्व सम्हालेर फुटबलको विकासको लागि उल्लेखनीय काम गर्छु’ उनले भने–‘पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षकहरु र केही क्लवहरुको समेत मलाई साथ छ ।’ आफ्नो पक्षमा राकेश श्रेष्ठ, हरि खड्का, वालगोपाल महर्जन लगायतको साथ रहेको बताए । ७ प्रदेशमा फुटबल एकेडेमी आवश्यक भएको उनले बताए ।
फुटबलमा धेरै लामो समय देखि सुधार हुन नसकेको उल्लख गर्दै उनले एन्फाका पूर्व अध्यक्ष गणेश थापाले पर्दा पछाडिबाट नकरात्मक ढङ्गले फुटबल खेलको स्तर खस्काएको दाबी गरे । ‘नेपाली फुटबलको विकास हुन नसक्नु म्याच फिक्सिङ, बढी उमेरका खेलाडीहरु समावेश गर्ने र खेलकुदको विकासको लागि पूर्वाधार तथा प्रशिक्षणमा ध्यान नदिनु मुख्य कारण हुन’ उनले भने । एन्फामा धेरै दुरुपयोग भएको उल्लेख गर्दै थापाले एन्फाका उपाध्यक्ष मणि कुंवरले एन्फाले दिएको ८० लाखको गाडी चढ्ने गरेको आरोप लगाए ।
जिल्लाहरूमा निर्वाचन हुँदै गरेकोले आफूहरू अब जिल्ला प्रचारमा हिँड्ने तर निर्वाचनको लागि भने अधिकतम १० लाख सम्म हिँडडुलमा मात्र खर्च गर्ने उनले जनाए । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आगामी चैत १४ गते हुने १६ औँ केन्द्रीय महाधिवेशनको लागि ७७ जना मतदाता हुने छन् । निर्वाचन जित्नको लागि उमेदवारले कम्तीमा ३९ मत आफ्नो पक्षमा पार्नु पर्छ ।








