बकर–इदको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतको शुभकामना

काठमाडौं, भदौ १८ । इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इदको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले इद मनाउने सबैमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा सबै नेपालीले नेपालीले आफ्नो मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आ–आफ्नो स्थानबाट सद्भाव र सत्कर्मलाई नछोडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चिरकाल पर्यन्त अक्षुण्ण राखी राष्ट्रिय एकता कायम गर्न सक्नुपर्ने बताउनुभएको छ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि इस्लाम धर्मावलम्बीहरूको इदको अवसरमा शुभकामना दिंदै मुस्लिम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा उहाँले आफूहरूको प्रमुख कार्यभार संविधान कार्यान्वयन, आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माण र बलियो राष्ट्रिय एकताका लागि सहमति, सहयोग र सहकार्यको बाटोमा अगाडि बढ्न सबै नेपालीलाई प्रेरणा दिने विश्वास व्यक्त पनि गर्नुभएको छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना दिनुहुँदै मुलुकभित्रको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विविधता नै नेपालको विशेष पहिचान हो भन्दै यसले समाजलाई पारस्परिक सम्मानसहित अघि बढ्न अभिप्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ । सन्देशमा संविधानमा रहेको राष्ट्रिय मुस्लिम आयोगको गठनसम्बन्धी व्यवस्थाले मुसलमान समुदायको समस्या समाधान गर्न र थप अधिकार प्राप्त गर्न उपलब्धिमूलक हुनेछ भन्न विश्वास पनि व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + five =