प्रधानमन्त्रीद्वारा संविधान दिवसका अवसरमा शुभकामना

काठमाडौँ, असोज ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीप्रति शुभकामना व्यक्त गरेका छन् ।

संविधान दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनमा ज्यान गुमाएका शहीदप्रति हादिक श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकलाई विधिको शासनमा बाँध्न अतुलनीय योगदान गर्ने सम्पूर्ण देशवासीप्रति हार्दिक आदर व्यक्त गरेका छन् ।

प्रधानमन्त्रीले सात दशक लामो पर्खाइ र प्रयत्नबाट संविधानसभामार्फत निर्माण गरिएको नयाँ संविधानले नेपाली जनताको आकाङ्क्षा र आशा मात्रै होइन मान्यता र सिद्धान्तलाई समेत समेटेको उल्लेख गरेका छन् । “असोज ३ गते संविधान जारी भएको दिन, आधुनिक नेपालको इतिहासको अन्त्यन्त महत्वपूर्ण दिन हो,” उनले सन्देशमा भनेका छन्, “त्यसैले उल्लासमय वातावरणमा देशभरि नै आज भव्यरुपमा राष्ट्रिय दिवस मनाउँछौँ ।”

प्रधानमन्त्रीले संविधानले सबै नागरिकलाई बिना भेदभाव मौलिक हक र स्वतन्त्रता सुननिश्चित गरेको बताउँदै संविधानले हरेक नेपालीको मर्यादालाई स्वीकार गरेको उल्लेख गरेका छन् ।

संविधानले पैँतीस भाग, ३०८ धारा र नौ अनुसूचीमा लिपिबद्ध मानवीय एवं लोकतान्त्रिक राजनीतिको मौलिक, आधुनिक र प्रगतिशील पक्षहरुलाई अङ्गीकार गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सन्देशमा नेपालको संविधान, नेपाली कानूनको स्रोत, दस्तावेज मात्रै नभएर सारा नेपालीको सामूहिक चाहना समेटिएको साझा दस्तावेज भएको बताएका छन् ।

संविधानमार्फत संवैधानिक सर्वोच्चतासहितको प्रतिस्पर्धात्मक बहुदलीय शासन प्रणाली स्थापना गरिएको बताउँदै उनले सन्देशमा आवधिक निर्वाचन, मानवधिकार, कानूनी राज, नियन्त्रण र सन्तुलनसहितको शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिको व्यवस्था गरिएको छ भनेका छन् ।

उनले सन्देशमा भनेका छन्, “सुदृढ लोकतन्त्रमा प्रयोगमा आएका लोकतन्त्रका विश्वव्यापी सबै अवयवलाई हामीले वैधानिक रुपमा नै यस संविधानमा संस्थागत गरेका छौँ, त्यसैले यो संविधान हामी नेपालीलाई सार्वभौमसत्ता सम्पन्न बनाउने सबैभन्दा प्रगतिशील दस्तावेज हो । यही संविधानले गरेका परिकल्पनाको आलोकमा यो सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्न प्रतिबद्ध छ ।”

समृद्धिको लक्ष्य हासिल गर्न शुरु भएको यात्रालाई गन्तव्यमा पु¥याउन संविधानको ३१ वटा धारामा उल्लिखित मौलिक हकलाई कार्यान्वन गर्न आवश्यक कानूनी प्रबन्ध सरकारले गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले यसको कार्यान्वयनसँगै नेपाली जनताको सम्मानित तथा मर्यादित जीवन जीउने अभिलाषा पूरा हुने स्पष्ट पारेका छन् ।

“मलाई विश्वास छ, हाम्रो संविधानले नेपाललाई बलियो, समृद्ध र मर्यादित राष्ट्रमा रुपान्तरित गर्नेछ । राष्ट्रियताको रक्षा र छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउनेछ । विश्वका सबै मुलुकसँग हार्दिक सम्बन्ध विस्तार गर्नेछ । नेपालीले सबै मुलुकसँग विकासमा साझेदारी र अन्तर्राष्ट्रिय मामिलामा सकारात्मक तथा सिर्जनात्मक भूमिका खेल्नेछ”, प्रधानमन्त्रीले सन्देशमा भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =