छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको ज्यान गयो

ट्रकको ठक्करबाट दुईको मृत्यु
मंसिर ११, कपिलवस्तु । बाणगंगा नगरपालिका–२ पिपरामा ट्रकले ठक्कर दिँदा गएराति दुई जनाको मृत्यु भएको छ । वुटवलबाट पश्चिम आउँदै गरेको ना२ख ९९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको लु१६प ५२०५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपन्देही सैनामैना नगरपालिका वडा नं १ पर्रोवाका १८ वर्षीय राजेश थारु र २० वर्षीय प्रेम थारुको मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए ।

उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र शव परीक्षणका लागि जिल्ला अस्पताल तौलिहवा पठाइएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
धादिङ । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो ।
मृत्यु हुनेमा जीतेन्द्र अधिकारी र भुवन पाण्डे रहेका छन् ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौँ जाँदै गरेको ना५ख २५६६ नंको ट्रकले गएराति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०, ५२ वर्षीय एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ट्रक र चालकलाई प्रहरी चौकी सिमलतालले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =