पैदल यात्रुलाई सडक वारपार गर्न कठिनाइ

“
बाँके, असोज २ । जिल्लाका अधिकांश सडकमा वारपार गर्न पैदलयात्रुलाई कठिनाइ हुने गरेको छ ।
सडकमा पैदलयात्रुका लागि बनाइएका ‘जेब्राक्रसिङ’को सङ्केत मेटिएपछि समस्या भएको हो । सङ्केत मेटिएपछि जेब्राक्रसिङमा चालकले सवारीसाधनको गति तीव्र पार्ने गरेका कारण यात्रुलाई बाटो काट्न कठिन हुने गरेको छ ।
नियमानुसार जेब्राक्रसिङ्मा पैदलयात्रुलाई प्राथमिकता दिनुपर्छ । चालकले त्यसको ख्याल कमै गर्ने गरेको पाइएको छ ।
चालकले रोक्नु त परै जाओस् अत्याधिक गतिमा सवारीसाधन हाँक्ने गरेको गुनासो पैदलयात्रुले गर्ने गरेका छन्, बाँकेका ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायाको अनुसार “चालकले पैदलयात्रुलाई प्राथमिकता नदिँदा दुर्घटना हुने गरेको पाइएको छ ।” चालकले जेब्राक्रसिङ्को नियम मिच्ने गरेका छन् । जेब्राक्रसिङमा गति कम नगर्ने चालकलाई कारबाही गरिने प्रहरी निरीक्षक रोकायाले बताए ।
“जनशक्ति पर्याप्त नहुँदा सबैतिर हेर्न सकिएको छैन,” उनले भने । नेपालगञ्ज र कोहलपुरका सडकमा बत्ती जडान हुन नसक्दासमेत समस्या भएको छ । हातको इसाराकै भरमा सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने अवस्था छ । कतिपय पैदलयात्रुले सडक पार गर्न जेब्राक्रसिङको प्रयोग गर्न ध्यान नदिएको पाइएको छ । “कतिपय पैदलयात्रुले जेब्राक्रसिङबारे ध्यान दिँदैनन्, जता पायो उतैबाट सडक पार गर्ने गरेको रोकाया बताउछन ।
सवारीसाधन र पैदलयात्रुको संख्या वृद्धि भएपछि समस्या झनझन बढ्दै गएको छ । यस्तो अवस्थामा पूर्वाधारसहितका व्यवस्थित जेब्राक्रसिङ आवश्यक छ । पैदलयात्रुलाई ट्राफिक नियमबारे अवगत गराउनु आवश्यक भएको प्रहरी निरीक्षक रोकाया बताउछन । ट्राफिक प्रहरीले सिठ्ठी बजाएर मात्रै ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको उनको भनाइ छ ।
जिल्लामा हाल ६३ ट्राफिक प्रहरी कार्यरत छन् । तेइस जना दरबन्दीमा कार्यरत छन् भने अन्य काजमा काम गर्दैआएका छन् ।
“








