प्रधानमन्त्रीको ‘अरिंगाल’ लाई नेकपाको बचाउ: काँग्रेसले माग्यो जवाफ

“
काठमडौँ, असोज १ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकर्तालाई दिएको निर्देशनको विषयमा संसदमा जवाफ माग गरिएको छ ।
संसदको बिहिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो रक्षाका लागि अरिंगाल जस्तो जाई लाग्न नेता कार्यकर्ताहरूलाई दिएको निर्देशनको विषयमा आलोचना गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले जवाफ माग गरेका हुन् ।
आजको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद मिनाक्षी झाले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेविरुद्ध ‘अरिंगाल जसरी झम्टिनु’ भनेर दिएको अभिव्यक्ति खेदपूर्ण रहेको बताउँदै उनले भनिन्, ‘प्रधानमन्त्री जस्तो पदमा बस्ने व्यक्तिले यस्तो अभिव्यक्ति दिन हुन्छ ? संयम अपनाउनु पर्दैन ?’
त्यसै गरी अर्का सांसद मीना पाण्डेले प्रधानमन्त्रीको अरिंगालको विषय कोप्रति लक्षित रहेको भन्दै प्रश्न गरिन्। उनले यस विषयमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने बताइन्।
कांग्रेसका अर्का सांसद राजन केसीले प्रधानमन्त्रीको बोली अत्यन्त आत्तिजजनक रहेको बताउँदै यस्तो अभिव्यक्तिले जनतामा आतंकित पैदा भएको बताए । संसदको शून्य समयमा केसीले भने, ‘निर्मला पन्तको हत्यारालाई पत्ता लगाउ भन्नु, ३३ किलो सुनकाण्डको छानबिन गर भन्नु, अपराध हो ? केसीले प्रश्न गरे।
त्यस्तै अर्का काँग्रेस सांसद सञ्जय गौतमले केपी ओली सबैको प्रधानमन्त्री भएकाले त्यसैअनुसारको भाषा बोल्न सुझाव दिए भने नेकपाकी सांसद पम्फा भुसालले भने प्रधानमन्त्री ओलीको भनाइलाई बचाउ गरिन् ।
“








