एमालेले राजनीतिक दासता लाद्ने कोशिष गर्दैछ’– डा. शर्मा

मोरङ, कात्तिक २१ । नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ का प्रत्यासी उम्मेद्वार डा. सुनिल कुमार शर्माले सो क्षेत्रमा जनतालाई सुविधा सम्पन्न स्वास्थ्य सेवा प्रदान गर्न पहल गर्ने बताउनु भएको छ ।
शुक्रबार कानेपोखरी, बयरबन र रमाईलो क्षेत्रका जनताहरुलाई सम्वोधन गर्दै डा. शर्माले प्रतिनिधिसभा निर्वाचनमा आफुले जितेर गएको अवस्थामा सरकारसँग लविङ गरेरै सो क्षेत्रका तीन स्थानमा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने बताउनु भएको हो । ‘जनतालाई सर्वसुलभ स्वास्थ्य सेवा दिनका लागि सरकारसँग लविङ गरेर तीन स्थानमा २५÷२५ शैयाको अस्पताल निर्माणमा विशेष पहल गर्नेछु ।

यदी नेपाल सरकारले गर्न नसके नोवेल मेडिकल कलेजले नै तीन ओटा शाखा सञ्चालन गर्नेछ ।’ नोवेल मेडिकल कलेजका निवर्तमान म्यानेजिङ डाइरेक्टर समेत रहनुभएका डा. शर्माले बताउनु भयो । डा. शर्माले वर्षेनी तराई मधेशका जनताले सर्पदंशबाट अकालमा ज्यान गुमाउनु परेको दृष्टान्त प्रस्तुत गर्दै सो क्षेत्रमा सर्पदंश उपचार सेवाका लागि पनि पहल गर्ने जिकिर गर्नुभयो ।
डा. शर्माले बयरबन, कानेपोखरीका स्थानीय मतदाताहरुलाई संवोधन गर्दै मोरङ क्षेत्र नं. ३ का जनतालाई स्वास्थ्य विमा कार्यक्रम समेत लागू गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । ‘राज्यले अंगीकार गरेका स्वास्थ्य कार्यक्रमसँगै नोवेल मेडिकल कलेजले पनि यो क्षेत्रका जनताका लागि स्वास्थ्य विमा कार्यक्रम ल्याउने छ ।’ उहाँले भन्नु भयो ।
सामान्य परिवारबाट विभिन्न आरोह अवरोह पार गर्दै उच्च शिक्षा हासिल गर्नु भएका डा. शर्माले हाल नोवेल मेडिकल कलेजमा चमार, डोम, दलित, अल्पसंख्यक जस्ता अति पिछडिएका जातिहरुका तीन सय बढि विद्यार्थीलाई निःशुल्क मेडिकल शिक्षा प्रदान गर्दै आउनु भएको छ । चुनावी भेटघाट कार्यक्रममा सो क्षेत्रबाट नेकपा एमाले पार्टी परित्याग गरी तीन दर्जन बढि महिलाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । पार्टी प्रवेश गर्नेहरुलाई संवोधन गर्दै डा. शर्माले नेकपा एमाले सामन्तीहरुको पार्टी भएको बताउनु भयो ।
एमालेले ल्याउनु भएको उम्मेद्वार फरक क्षेत्रबाट ल्याएको भन्दै उनीहरुले सो क्षेत्रको विकासमा कुनै योगदान पुर्याउन नसक्ने दावि गर्नुभयो । ‘एमालेले यो देशमा राजनीतिक दासता लाद्ने कोशिष गरिरहेको छ, यहाँका जनताले ‘घरको भुत र परको देउता’ को फरक छुट्याउन जरुरी छ ।’ उहाँले भन्नु भयो । उहाँले विगतमा एमालेका जनप्रतिनिधिहरुले मोरङ क्षेत्र नं. ३ को विकास र जनताको संबृद्धिका लागि केहि कुनै काम नै नगरेको भन्दै एमाले जनउत्तरदायी पार्टी नभएको औल्याउनु भयो ।
आफ्ना प्रत्यासी उम्मेद्वार नेकपा एमालेका भानुभक्त ढकाललाई आयातित प्रतिनिधि भन्दै उहाँले स्थानीय क्षेत्रको विकास गर्न नसक्ने दावि गर्नुभयो । ‘आदरणीय भानुभक्त ढकालजी तेह्रथुमको मान्छे काठमाडौंमा बसेर राजनीति गर्नुहुन्छ । हाम्रा हरुवाहरु यहाँ छन् असारमा विउ रोपेका थियौं मंसिरमा काट्न जानुपर्छ भनेर आउनु भएको हो । तर, अब परिस्थिति बदलिएको छ । जनता भ्रममा नपरेहुन्छ । उहाँले यो क्षेत्रका लागि केहि गर्न सक्नुहुन्न ।’ उहाँले भन्नुभयो ।








