पूर्व सांसदहरुलाई राज्यले तत्काल सुविधा उपलब्ध गराउनुपर्ने काँग्रेस सांसदहरुको माग

भदौ २६, काठमाडौँ । काँग्रेस सांसदहरुले जनताबाट निर्वाचित पूर्व सांसदहरुलाई राज्यले तत्काल सुविधा उपलब्ध गराउनुपर्ने माग गरेका छन् । उनीहरूले राज्यले पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीको मान्यता नदिएकोमा पनि आपत्ति जनाएका छन् । नेपाली काँग्रेसका सचेतक इश्वरी न्यौपानेले जनताको पक्षमा निष्ठापूर्वक काम गरेका पूर्व सांसदहरुलाई राज्यले अपमानजनक व्यवहार गर्नु नहुने स्पष्ट पारे । उनले पूर्व सांसदहरुको सम्मानका राज्यले तत्काल सुविधा दिनुपर्ने माग समेत गरे ।

व्यवस्थापिका संसद् राज्य व्यवस्था समितिको सोमबारको बैठकमा ‘पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै काँग्रेस सचेतक न्यौपानेले पूर्व सांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गर्दै आएपनि अव त्यसो गर्न नमिल्ने धारणा राखेका हुन् ।

काँग्रेसकै अर्का सांसद अर्जुनप्रसाद जोशीले पनि निष्ठापूर्वक जनताको सेवा गरेका पूर्व सांसदहरुलाई पूर्व पदाधिकारीको मान्यता दिन सरकारसँग माग गरे । उनले जनताका प्रतिनिधिहरूलाई अव पनि अपमानित गर्ने काम राज्यले अपमान गर्न नहुने तर्क राखेका हुन् ।

यता, राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले भने, ‘जनतामाथि एकपछि अर्को पीडा थपिएको बेला पूर्व सांसदहरुलाई सुविधा दिने विषय उठाउन सामयिक नहुने टिप्पणी गरे’ । उनले भूकम्प र बाढीले जनता पीडित भएका बेला राज्यले उनीहरूको सेवालाई उच्च प्राथमिकता दिनुपर्ने पनि स्पष्ट पारे ।

पूर्व पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीपरिषदका अध्यक्ष, प्रधानन्यायाधिश, प्रतिनिधि सभा वा व्यवस्थापिका संसद्को सभामुख, राष्ट्रिय सभा वा संविधान सभाको अध्यक्ष भई निवृत भएको व्यक्तिलाई मात्रै पूर्व पदाधिकारीको मान्यता दिएको छ । तर, काँग्रेस सांसदहरुले भने जनताको निर्वाचित प्रतिनिधिको रूपमा पूर्व सांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिनु स्वभाविकै हुने तर्क अघि सारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =