चितवन आर्थिक राजधानी बन्छ : प्रचण्ड

भरतपुर, पुस २१ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन आर्थिक राजधानी बन्ने बताएका छन् । उनले नेपालको आर्थिक विकासको राजधानी बनाउन अब कसैले रोकेर रोक्न नसक्ने बताए ।

उनले भने, ‘चितवन वैकल्पिक राजधानी हुनसक्छ, केन्द्रीय राजधानी हुनसक्छ, हामी छलफलमै छौँ, प्रदेशको राजधानी हुन सक्छ तर आर्थिक  राजधानी बन्नचाहिँ कसैले रोकेर रोकिनेवाला छैन । आर्थिक राजधानी हुन्छ हुन्छ ।’ शक्तिखोरमा बन्दै गरेको औद्योगिक क्षेत्रले पनि यसलाई आर्थिक राजधानी बनाउन सक्ने उनको भनाइ थियो ।

चितवन उद्योग संघको नवौं अधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् चितवन ३ का सांसद तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवनको समग्र विकासको वस्तुगत परिस्थितिलाई अगाडि बढाउने आफ्नो जमर्को अब जनप्रतिनिधिको हैसियतमा हुने बताए । उनले भने, ‘यो आर्थिक क्रान्ति र समृद्धिको युग हो । चितवन आर्थिक विकासमा अग्रणी र देशकै केन्द्रबिन्दुमा छ । रेल लाइनका लागि चितवनले कनेक्टिभिटीको भूमिका निर्वाह गर्ने भएकाले विकासको संभावना पनि बढी हुन्छ ।’

उनले भने, ‘हिजो म प्रधानमन्त्रीको हैसियतमा थिएँ, यहाँको विकासमा मैले भूमिका खेलेँ । अब जनताको अभिमतबाट प्रतिनिधिको हैसियतमा सिंहदरबार जाँदैछु, मलाई विश्वास छ, अब आर्थिक क्रान्तिको अभिभारा पूरा गर्नेछु ।’
अब कसैलाई दोष देखाएर पन्छिन नमिल्ने बताउँदै प्रचण्डले थपे, ‘देशको विकास भएन भनेर हामीले राजालाई दोष दियौँ, दलहरुलाई दोष दियौँ, अब कसैलाई दोष दिने ठाउँ छैन । विकास र समृद्धिलाई गति दिन सकेनौँ भने हामी सबै दोषी हुनेछौँ । त्यतिबेला मुलुक निकै अप्ठेरो अवस्थामा हुनेछ ।”

प्रचण्डले कृष्णनगरदेखि हेटौँडा हुँदै काठमाडौँ र केरुङदेखि काठमाडौँ हुँदै चितवन जोड्ने रेलमार्गका लागि भरतपुर महानगरले कनेक्टिभिटीको काम गर्ने उल्लेख गरे । उनले भने, ‘दुई छिमेकी भारत र चीनबीच कनेक्टिभिटीको रुपमा रहेर पाँच वर्षभित्र नयाँ युग आएकै हो भन्ने अनुभूति गराउन राजनीतिक र आर्थिक क्षेत्रबाट सबैले संकल्प गरौँ ।’
‘हामीले परिवर्तनलाई संस्थागत गर्ने क्रममा संविधान निर्माणमा सहमति र समझदारीका साथ अघि बढ्यौँ । अब नयाँ नेपाल बनाउने संकल्पका साथ सबै मिलेर विकास निर्माणलाई गति दिन सकेनौँ भने देश निकै अफ्ठ्यारो पर्नेछ’, उनले भने ।

त्यस्तै, शुक्रबारै पूर्वप्रधानमन्त्री प्रचण्डले भरतपुर महानगरको पहिलो नगर सभाको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा चितवनबाट दुई वटा रेल गुड्न सक्ने बताएका छन् । एउटा ल्हासाबाट आएको रेल लुम्बिनी हुँदै पूर्व जाने र अर्को रेल चितवन हुँदै काठमाडौँ जान सक्ने भएकाले चितवनबाट दुई वटा रेल गुड्ने सम्भावना रहेको र चितवन रेलको ट्राजिन्ट बन्न सक्ने बताए । उनले भने, ‘केरुङ ठोरी सडक बनेपछि चितवनको मुहार फेरिन्छ र त्यो सडक अवश्य बन्नेछ । चितवन शिक्षा स्वास्थ्यको हब हुने पनि उनको भनाइ थियो । चितवनमा विश्वले तीव्र रुपमा आर्थिक विकास भइरहेको २÷३ वर्षमै देख्न सकिने उनले बताए ।

भरतपुर महानगरको नगर सभामा मेयर रेणु दाहालले आर्थिक वर्ष ०७४÷०७५ को लागि अनुमानित ३ अर्ब ५० लाखको बजेट प्रस्तुत गरेकी थिइन् । नगर सभा तीन दिनसम्म चल्नेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 3 =