काँग्रेसमा भाडभैलो उपसभापति सहित सय भन्दा बढी कार्यकर्ता एमालेमा प्रवेश

भरतराज शर्मा(गोपाल), धरान । आगामी मङ्सिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा सुनसरीको सदरमुकाम इनरुवामा उल्लासपूर्ण रूपमा मनोनयन दर्ता भएको छ ।

सुनसरीमा प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि प्रमुख दलका उम्मेदवारहरुले उत्साहपुर्वक आफ्ना उम्मेदवारी दर्ता गराएका थिए जसमा सुनसरी क्षेत्र न १ बाट प्रतिनिधि सभाका लागि सङ्घीय समाजवादी फाेरमबाट अशोक राई र बाम गठबन्धनबाट एमालेका जयकुमार राईले दर्ता गराएका छन् । सुनसरी क्षेत्र न १ (क) बाट प्रदेश सभाका लागि नेपाली काङ्ग्रेसका किशोर राई र बाम गठबन्धनबाट एमालेका प्रदीप भण्डारी, सुनसरी क्षेत्र न १ (ख) बाट प्रदेश सभाका लागि नेपाली काङ्ग्रेसबाट बुद्धि कटुवाल र बाम गठबन्धनबाट एमालेका भीम आचार्य, सुनसरी क्षेत्र न २ बाट प्रतिनिधि सभाका लागि नेपाली काङ्ग्रेसका सीताराम मेहता र बाम गठबन्धनबाट माओवादी केन्द्रका डम्बर सुवेदी हिमाल, सुनसरी क्षेत्र न २ (क) बाट प्रदेश सभाका लागि नेपाली काङ्ग्रेसबाट हेमकर्ण पौडेल र बाम गठबन्धनबाट एमालेका सर्बोध सवाह, सुनसरी क्षेत्र न २ (ख) बाट प्रदेश सभाका लागि नेपाली काङ्ग्रेसका वर्तमान जिल्ला सभापति राजिव कोइराला र बाम गठबन्धनबाट केही दिन अघि मात्र एमाले प्रवेश गरेका रामप्रसाद मेहताले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै, सुनसरी क्षेत्र न ३ बाट प्रतिनिधि सभाका लागि नेपाली काङ्ग्रेस नेता तथा वर्तमान उपप्रधानमन्त्री विजय गच्छदार र बाम गठबन्धन बाट एमाले कि नेत्री भगवती चौधरी, सुनसरी क्षेत्र न ३ (क) बाट प्रदेश सभाका लागि नेपाली काङ्ग्रेसका कुमार थापा र बाम गठबन्धनबाट लिलम बस्नेत, सुनसरी क्षेत्र न ३ (ख) बाट प्रदेश सभाका लागि नेपाली काङ्ग्रेसका अगमलाल चौधरी र बाम गठबन्धनबाट रामदेव यादवले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
उता सुनसरी क्षेत्र न ४ बाट प्रतिनिधि सभाका लागि नेपाली काङ्ग्रेस बाट वर्तमान अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र बाम गठबन्धन बाट एमालेका रमेश श्रेष्ठले उम्मेदवारी दिएका छन् । सुनसरी क्षेत्र न. ४ (क) बाट प्रदेश सभाका लागि नेपाली काङ्ग्रेसका रेवत दुलाल र बाम गठबन्धनबाट एमालेका जगदीश कुशियैत, सुनसरी क्षेत्र न ४ (ख) बाट प्रदेश सभाका लागि नेपाली काङ्ग्रेसबाट ताहिर अन्सारी र बाम गठबन्धनबाट माओवादी केन्द्रका नेता तथा पूर्व राज्यमन्त्री जाकिर हुसेनले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैबिच नेपाली काँग्रेस सुनसरीका उपसभापति रामप्रसाद मेहता, खानेपानी तथा सिचाइ विभागका केन्द्रीय अध्यक्ष तथा नेपाल रेडक्रस सुनसरीको संस्थापक अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । उनलाई एमालेका केन्द्रीय सदस्य धर्मराज निरौला लगायतका नेताहरूले पार्टी प्रवेश गराएका हुन् । मेहतासँगै उनको परिवार र अन्य सय भन्दा बढी काँग्रेसी कार्यकर्ताहरू समेत एमालेमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा नेकपा एमाले सुनसरीका अध्यक्ष रमेश बस्नेत सहित एमाले नेताहरू रमेश श्रेष्ठ, खेमराज पोखरेल, पोस्ट नेपाल, पर्शुराम यादव, सत्रुघन यादव, राम यादव, दुखराम यादव लगायतको उपस्थिति रहेको थियो । एमाले प्रवेश गरेका मेहतालाई सुनसरी क्षेत्र नम्बर २ को प्रदेश सभा ख तर्फ एमालेबाट उम्मेदवार बनाउने सहमति भएको बताइएको छ ।








