बिरामीलाई डाक्टर कहाँ गएर औषधोपचार गराउन धामीझाँक्री सल्लाह दिदै

विमल विष्ट । डोटी । कुनै समय डाक्टरले निको पार्न नसकेको रोग आफूले निको पार्न सक्ने दाबी गर्दै आएका डोटीका धामी झाँक्रीहरु पछिल्लो समय डाक्टरले सञ्चालन गरेका स्वाथ्य शिविरमा गएर आफ्नो उपचार गराउन थालेका छन् । आफू मात्र नभई उनीहरु अहिले गाउँका अन्य बिरामीलाई पनि डाक्टर कहाँ गएर औषधोपचार तथा जाँच गराउन सल्लाह दिन थालेको डोटीको शिखरनगरपालिका–९ का टेकबहादुर रावलले बताउनु भयो । उहाँले भन्नुभयो ‘धामीलाई देउता काप्न खबर गर्न जाँदा अहिले उनिहरु पहिला अस्पताल लैजाउ डाक्टरलाई जाँच गराउ, पछि हामी हेरौँला भन्छन् ।’

पछिल्लो समय विभिन्न किसिमका रोगहरु देखा पर्न थालेको र देउताकै भर पर्दा ज्याननै खतरमा पर्ने भएकाले धामी झाँक्रिले बिरामीलाई अस्पताल तथा डाक्टर कहाँ पठाउने गरेको उनीहरुले बताएका छन् । नेपाली सेनाको सुदूरपश्चिम पृतना दिपायल, राजपुर मतहत रहेको नम्बर ५ फिए तथा नम्बर २५ फिएले शिखर नगरपालिका–९ तिल्तालीका नागरिकलाई घरैमा निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले सञ्चालन गरेका स्वास्थ्य शिविरमा प्राय जसो धामी झाँक्रीहरु आफ्नो उपचार तथा जाँच गराउन आएका थिए । धामी झाँक्रीप्रति निकै विश्वास तथा आस्था राख्ने सुदूरपश्चिमेलीहरु धामी झाँक्री पनि डाक्टर कहाँ गएर औषधी उपचार गराउन थालेपछि उपचार गराउन स्वास्थ्य संस्थामा आउने क्रम बढेको छ ।

स्थानीय बासिन्दाका अनुसार ‘पहिला यहाँका मानिस बिरामी पर्दा खासै अस्पताल तथा डाक्टर कहाँ आउने चलन थिएन गाउँमै धामी झाक्री खोज्ने चलन थियो, अहिले बिरामी पर्दा धामी नै अस्पताल तथा डाक्टर खोज्न थालेपछि गाउँका बिरामी स्वास्थ्य संस्थामा आउने लर्को लागिरहेको छ ।’ बिरामीहरु उपचार गराउन अस्पताल तथा डाक्टर खोज्न थालेपछि सुदूरपश्चिमका अधिकांश धामी झाक्रीको आम्दानी कम हुन थालेको छ । स्थानीय बासिन्दा भन्छन् ‘धामी झाँक्री नै डाक्टर खोज्न जान थालेपछि उनीहरुकोमा को जाने ?’








