साधक सत्सङ्गमा प्रस्तुत भए पाँच विशिष्ट काव्य साधक

भाद्र ३०, काठमाडौं ।शुक्रबार राजधानी स्थित होटल हार्दिकमा आयोजित एक विशेष समारोहमा आधुनिक नेपाली कविता क्षेत्रका पाँच विशिष्ट काव्य साधकहरू सम्मानित भएका छन् ।

नेपाली वाङ्गमय परिषद्, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र जसराज किराती प्रतिभा प्रतिष्ठानद्वारा आयोजित ‘विशिष्ट साधक सम्मान तथा साधक सत्सङ्ग’ कार्यक्रममा विशिष्ट काव्य साधकहरू बैरागी काइँला, तुलसी दिवस, जसराज किराती, मञ्जुल र तोया गुरुङ सम्मानित भएका हुन् ।

विशिष्ट काव्य साधकहरूलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् जनसांस्कृतिक महासङ्घका अध्यक्ष खगेन्द्र राई र नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गंगाप्रसाद उप्रेतीले माला, दोसल्ला र ताम्रपत्रबाट सम्मानित गरेका थिए ।

सत्सङ्ग समारोहमा बोल्दै निवर्तमान कुलपति उप्रेतीले विशिष्ट काव्य साधकहरूको सम्मानमा पृथक् ढङ्गको कार्यक्रम आयोजना गरेकोमा आयोजकको प्रशंसा गर्दै सत्सङ्ग शब्दलाई नयाँ किसिमले प्रयोग गरिएको बताए । उनले सम्मानित सबै काव्य साधक सत्सङ्गयोग्य भएको दाबी गरे ।

उक्त अवसरमा अध्यक्ष राईले सम्मानित साधकहरूलाई बधाई ज्ञापन गर्दै यस्ता कार्यक्रमहरू आयोजना गरिनु पर्ने धारणा राखेका थिए । सम्मानित साधकहरूको काव्य साधनाबारे बोल्दै मोमिलाले सम्मानीतहरुमा माथि बोल्नु सूर्यको अगाडि टुकी देखाउनु सरह भएको बताइन् ।

समारोहमा सम्मानित विशिष्ट काव्य साधकहरूले आफ्ना तीन–तीन प्रतिनिधि कविता वाचन गरेका थिए । समारोहमा आफ्नो विचार राख्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति समेत रहेका कवि काइँलाले भने, ‘सत्य कुरा बोल्दा यहाँ धेरैलाई मन पर्दैन, कविताले पनि सत्य कुर नै बोल्ने गर्छ । त्यसैले हिजोआज कविता वाचन गर्न मन लाग्दैन ।’

कवि तुलसी दिवसले कवितामा आन्दोलनको आवश्यकता नभएको भन्दै आयोजित कार्यक्रम अत्यन्त फरक प्रकारको रहेको बताए । कार्यक्रममा कवि किराती, कवि मन्जुल र कवि गुरुङले पनि आफूहरुलाई सम्मानको हकदार सम्झेर सम्मान गरेकोमा आभार व्यक्त गरेका थिए ।

समारोहको उद्देश्यमाथि प्रकाश पार्दै नेपाली वाङ्मय परिषद्का अध्यक्ष शशी लुमुम्बूले अग्रज साधकहरूको सम्मानमा साधक सत्सङ्ग कार्यक्रमको आयोजना गरिएको बताए ।
गायिका बबिना किरातीले बैरागी काइँलाको कविता ‘बागमती लहरले उठेर बर्सिदेऊ’लाई गीतका रुपमा गाएकी थिइन् । उक्त गीतमा वसन्त मुकारुङले सङ्गीत दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 8 =