‘जनस्वास्थ्य विधेयक’ पारित: राज्यको खर्चबाट विदेशमा उपचार गराउने बाटो बन्द

“
काठमाडौँ, भदौ २९ । ‘जनस्वास्थ्य विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । जनस्वास्थ्य विधेयक पारित भएसँगै अब राज्यको ढुकुटीबाट विदेशमा उपचार गराउँदै आएका विशिष्ट व्यक्तिहरुका लागि यो बाटो बन्द भएको छ ।
अब विशिष्ट व्यक्तिले विदेशमा गराउने उपचार खर्च राज्यले नतिर्ने भएको हो । सर्वत्र आलोचनको विषय बनेको यो सुविधा कटौती हुने गरि संसदबाट जनस्वास्थ्य विधेयक पारित भएको हो ।
जनस्वास्थ्य विधेयकमा सांसद एवं पूर्व स्वास्थ्य मन्त्री गगन थापाले स्वदेशमा उपचार नगरी आफू खुसी विदेशमा उपचार गराउने कुनै पनि व्यक्ति, वर्तमान तथा पूर्व विशिष्ट लगायतलाई कुनै पनि निकायबाट कुनै पनि नाममा सरकारले उपचार खर्च वा आर्थिक सहायता उपलब्ध गराउने छैन भन्ने संशोधन दर्ता गरेका थिए । थापाको प्रस्तावलाई थप स्पष्ट र विस्तारित गर्दै समितिले अघि बढाएको विधेयक संसदले पारित गरेको हो।
विधेयक पारित गरियोस् भनी उपप्रधानमनत्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले प्रतिनिधिसभाको आजको बैठकमा उक्त प्रस्ताव पेश गरेका थिए । यसअघि मन्त्री यादवले ‘शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको जनस्वास्थ्य विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
छलफलमा सांसद प्रेम सुवालले मात्र भाग लिए । विधेयकका बारेमा पर्याप्त छलफल गर्ने समय नदिइएको उनले गुनासो गरे ।
सांसदका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले विधेयकमा सरकारी, सहकारी र गैर सरकारी संस्थाले सञ्चालन गर्ने स्वास्थ्य संस्थालाई व्यवस्थापन एवं नियमन गर्ने विषय समेटिएको बताए ।
रोग लाग्नबाटै जोगाउने र लागिहालेमा उपचार गर्ने अधिकार सुनिश्चित गरिएको उनको भनाइ थियो । बैठकले विधेयकको दफा एकदेखि ६० सम्म समितिले गरेको संशोधनलाई अङ्ग बनाउने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
“








