शपथ खाएर आएका चितवनका सांसदले भने ‘अब काम गर्ने बाटो खुल्यो’

भरतपुर, माघ ९ । प्रदेश ३ को जिल्ला चितवनको ३ वटा क्षेत्रका ६ जना प्रदेश सांसदहरुले पनि शपथ लिए । चितवनका प्रदेश सांसदले शपथपछि थप जिम्मेवार बढेको महसुुस गरेका छन् ।
चुनाव सकिएको डेढ महिनापछि सपथ लिन पाउँदा सबै सांसदको चेहरामा खुसी देखिन्थ्यो । ‘सपथ लिएपछि चुनावमा जितेको समयभन्दा बढी जिम्मेवार थपिएको महसुस गरेको छु’ चितवन क्षेत्र नम्बर २ का प्रदेश १ बाट निर्वा्चित भएका सांसद विजय सुवेदीले भने, ‘आफ्नो क्षेत्रको विकासको लागि पाइला अघि बढेको अनुभव भयो ।’ उनले जनताको सपना पूरा गर्नको लागि एउटा ठूलो भार थपिएको महसुस भएको बताए । उनले भने, ‘जनताको भावनाअनुसार अगाडि बढन् थप जिम्मेवारी बोध भएको छ, त्यो पूरा गर्ने संकल्प गरेको
छु ।’

चितवन क्षेत्र नम्बर १ का प्रदेश सांसद कृष्ण खनालले पनि निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिबद्धताहरु पूरा गर्छु भन्ने साहससँगसँगै जिम्मेवारी बढेको महसुुस भएको बताए । उनले भने, ‘शपथ खाँदै गर्दा त्यो परिधिभित्र बस्दै गर्दा काम गर्नको लागि थप हौसला मिलेको अनुभव भयो ।’ उनले शपथपछि देश र जनताको लागि केही गर्नुपर्छ भन्ने आँट पनि बढेको बताए ।
त्यस्तै चितवन क्षेत्र नम्बर ३ का अर्का प्रदेश सांसद कृष्ण भुर्तेलले सपथपछि विकासको कोर्स पूरा गर्नको लागि एउटा बाटो खुलेको महसुस भएको बताए । उनले भने, ‘शपथ खाँदै गर्दा थप जिम्मेवारी बढेको अनुभव भयो ।’ हिजो चुनावको बेला बोलेका कुराहरु पूरा गर्ने संकल्प गरेको उनले बताए ।
‘राजनीतिक कोर्सहरु पूरा भए, अब विकासको कोर्समात्र बाँकी छ, त्यो पूरा गर्नको लागि एउटा थप भार थपिएको महसुुस भयो’ सांसद भुर्तेलले भने ।
चितवन क्षेत्र नम्बर २ का प्रदेश २ का सांसद घनश्याम दाहाल अविनाशले शपथपछि आर्थिक उन्नतिमा छलाङ मार्ने विश्वास पैदा भएको बताए । उनले भने, ‘चुनावको परिणाम आएपछि पनि प्रदेशको अवस्थाबारे धेरै द्विविधाहरु थिए, अब त्यो द्विविधाहरु सबै हटेको छ ।’ उनले शपथपछि काम गर्ने हौसला मिलेको बताए । उनले भने, ‘शपथपछि अब काम गर्नलाई एउटा मार्ग खोलिएको महसुस भएको छ ।’
त्यस्तै चितवन क्षेत्र नम्बर १ को प्रदेश सांसद दावादोर्जे लामाले शपथपछि अब केही गर्नुपर्छ भन्ने महसुस बढेको बताए । उनले भने, ‘शपथपछि भ्रष्टचारमुक्त नेपाल बनाउन आफूले केही भूमिका खेल्नुपर्छ भन्ने लागेको छ ।’ उनले शपथपछि आफूलाई थप जिम्मेवारी र काम गर्ने जोशजाँगर थपेको अनुभव संगालेका छन् । उनले चुनावमा भनिएका कुराहरु पूरा गर्नलाई एउटा ढोका खुलेको बताए ।








