सोनिया पुत्र राहुललाई कांग्रेस (आई)को अध्यक्ष बनाउने तयारी

मंसिर ४, काठमाडौं । लगातार १९ वर्ष पार्टी अभ्यक्ष भएकी भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीले छोरा राहुललाई पाटीृको अध्यक्ष बनाउने तयारी थालेकी छन् । राहुल कांग्रेस आईका उपाध्यक्ष हुन् ।
युवा नेता राहुल गान्धीलाई कंग्रेस अध्यक्ष बनाउने तयारी सुरु भएको छ । नयाँदिल्लीमा सोमबार अध्यक्ष सोनिया गान्धीको निवासमा बसेको कंग्रेस वर्किङ कमिटी (सिडब्लुसी)को बैठकमा उपाध्यक्ष राहुललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव राखिएको छ । यससँगै कंग्रेसको नेतृत्व अब युवापिँढीमा जाने निश्चित छ । बैठकले अध्यक्षका लागि निर्वाचन मिति पनि सार्वजनिक गरेको भारतीय मिडियाहरूले जनाएका छन् । भारतीय एजेन्सीका अनुसार १६ डिसेम्बरमा मतदान हुनेछ । १९ डिसेम्बरमा निर्वाचनको परिणाम आउनेछ । सिडब्लुसी बैठकमा राहुलसहित मनमोहन सिंह, गुलाम नबी आजद, पी चिदम्बरम तथा सुशीलकुमार सिन्देजस्ता कंग्रेसका सिनियर नेताहरूको उपस्थिति थियो।
यस्तो हुनेछ चुनावी कार्यक्रम
सिडब्लुसी बैठकले अध्यक्ष निर्वाचनका लागि विभिन्न कार्यसूची तयार पारेको छ । जसअनुसार १ डिसेम्बरमा अध्यक्ष निर्वाचनका लागि ‘नोटिस’ जारी हुनेछ । त्यसपछि ४ डिसेम्बरमा अध्यक्ष बन्न इच्छुक नेताहरूले आफ्नो नाम निर्वाचन समितिमा दर्ता गराउनेछन् । १६ डिसेम्बरमा मतदान र १९ डिसेम्बरमा चुनावको परिणाम सार्वजनिक हुने सिडब्लुसीले जनाएको छ । यता, अध्यक्ष सोनियाले भावी अध्यक्षका लागि छोरा राहुलको नाम प्रस्ताव गरेकी थिइन् । बैठकमा सिनियर नेताहरूले समर्थन जनाए पनि अन्यले असन्तुष्टि पोखेका थिए । नेता जनार्दन द्विवेदीले अध्यक्षका लागि एक मात्र नाम सिफारिस भए चुनाव गर्नुपर्ने आवश्यकता नभएको भनी विरोध जनाएका छन् । ‘यदि अध्यक्ष पदमा एकजना मात्र व्यक्तिको नाम सिफारिस वा उम्मेदवार बनाइन्छ भने चुनावी कार्यक्रम सार्वजनिक किन गर्नुप¥यो ?’ ट्विटरमा जनार्दन लेख्छन्, ‘एकैपटक राहुललाई नै अध्यक्ष घोषणा गर्दा राम्रो हुने थियो ।’
राहुलसँग अनुभव
कंग्रेसभित्र सिडब्लुसी सबैभन्दा बलियो कमिटी हो । पार्टीभित्रैकै सबैभन्दा शक्तिशाली कमिटीलाई उपाध्यक्ष राहुलले एकपटक नेतृत्व गरिसकेका छन् । ६ नोभेम्बरको सिडब्लुसीको बैठकमा अध्यक्ष तथा आमा सोनिया उपस्थित नभएपछि राहुलले नै बैठक अगाडि बढाएका थिए । सो बैठकमा पूर्वप्रधानमन्त्री मनमोहन, गुलाम नबी आदाज, मोतीलाल, अहमद पटेल, दिग्विजय सिंह, अम्बिका सोनी तथा लोकसभाको पार्टी नेता मल्लिका अर्जनजस्ता नेता थिए । सो बैठकमा उपस्थित शीर्ष नेताहरूले नै राहुललाई भावी कंग्रेस अध्यक्ष बनाइनुपर्ने प्रस्ताव राखेका थिए ।
सोनिया लगातार १९ वर्ष अध्यक्ष
तत्काल राजीवन गान्धीको निधनपछि पिबी नरसिंह रावले कंग्रेस सम्हालेका थिए । अध्यक्षको कार्यकालमै राव सन् १९९१–९६ सम्म भारतका प्रधानमन्त्रीसमेत भए । रावपछि कंग्रेसको अध्यक्ष सोनिया भइन् । सन् १९९८ देखि सोनिया अध्यक्ष पदमा छिन् । सिडब्लुसीले चाहेजस्तै राहुल अध्यक्षमा निर्वाचित भए सोनिया युग समाप्त हुनेछ ।
राहुल जिम्मेवारी लिन तयार
६ नोभेम्बरमा सिडब्लुसीको बैठकमै उपाध्यक्ष राहुललाई अध्यक्ष बनाउने सिफारिस भएको थियो । त्यसयता राहुलले आफू अध्यक्ष पद सम्हाल्न मानसिक रूपमै तयार भएको जनाउँदै आइरहेका छन् । राहुलले पछिल्लोपटक सहभागिता जनाएका सभा तथा कार्यक्रममा आफू अध्यक्ष बन्न तयार भएको भाषण दिँदै आइरहेका छन् । चार वर्षअघि नै कंग्रेसभित्र राहुललाई नै अध्यक्ष बनाइनुपर्ने आवाज नउठेको होइन । त्यसवेला राहुलको चर्चा त्यतिकै सेलायो । चार वर्षपछि सिडब्लुसी बैठकमा राहुलको पक्षमा एकमतजस्तो देखियो । बैठकमा धेरैजसो शीर्ष नेताहरूले पनि कंग्रेसलाई एक सक्षम तथा युवा नेताले नेतृत्व गर्नुपर्ने धारणा राखेका थिए ।








