काँग्रेसद्वारा प्रदेश नं. १ को राजधानी धरानलाई बनाउने उद्घोष


असार ४ धरान । नेपाली काँग्रेस सुनसरी धरानले प्रदेश नं. १ को राजधानी धरानलाई बनाउने घोषणा गरेको छ । हिजो धरानमा आयोजित उम्मेदवार घोषणा सभामा प्रदेश नं. १ को राजधानी धरान उपर्युक्त भएको भन्दै सो घोषणा गरेको हो ।
नेपाली काँग्रेस धरा नगर समितिद्वारा आयोजित कार्यक्रममा धरानमा एयरपोर्ट निर्माण, व्यवस्थित बसपार्क निर्माण गरिने र कृषिमा आत्मनिर्भरका योजनाहरू ल्याइने घोषणा गरिएको हो । यस्तै गरी धरानमा पर्यटकीय गन्तव्य स्थल निर्माण, छनौट लगायतका महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

कार्यक्रममा नेपाली काँग्रेस सुनसरीका सचिव एवम् निर्वाचन समितिका संयोजक सुजेन्द्र तामाङले घोषणा पत्र सार्वजनिक गर्नुभएको थियो । काँग्रेसले सार्वजनिक गरेको घोषणपत्रमा आर्थिक समृतिको संकल्पमा आन्तरिक तथा बाह्य पर्यटन, कृषिको आधुनिकरणसँगै उत्पादनमा जोड, उद्योगधन्दालाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । काँग्रेसले स्थानीय जनतालाई समृद्धितर्फ उन्मुख गर्न प्राकृतिक स्रोत व्यवस्थापनमा स्थानीय समुदायको सहभागितालाई सुनिश्चित गरेको छ ।
यसै गरी कृषिमा उद्यमशीलता र जनशक्ति तयार गर्ने, उत्पादन भएको सामग्रीको बजारीकरण लगायतका कुरालाई विशेष जोड दिइएको छ । घोषणापत्रमा काँग्रेसले धरानलाई प्राकृतिक, सांस्कृतिक, धार्मिक, स्वास्थ्य तथा शाहसीक खेललाई प्रवद्र्धन गर्दै साहसिक पर्यटन केन्द्र बनाउने जस्ता योजनाहरू समेत अगाडि बढाउने भएको बताएको छ ।








