‘लोक संस्कृति भनेको समाजको सृजना हो’

लोक संस्कृतिविद् तुलसी प्रसाद जोशी (दिवस) लाई नेपाली लोक संस्कृति र साहित्यमा नचिन्ने सायदै होलान् । सबैभन्दा सानो उमेरमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ समेत बन्नु भएका दिवसको जन्म सन् १९४१ मा पूर्वी पहाडी जिल्ला धनकुटामा महाप्रसाद जोशी र चण्डिकादेवी जोशीको जेठो छोराको रूपमा भएको हो । उहाँले धनकुटाकै गोकुण्डेश्वर हाइस्कूलबाट माध्यमिक शिक्षा उत्तीर्ण गरी धनकुटा कलेजबाट नेपाली साहित्यमा एम ए गर्नुभएको छ । त्यसपछि अमेरिका, जापान लगायतका विभिन्न विश्वविद्यालयबाट भाषा, संस्कृति र लोकवार्ता विषयमा विशेषज्ञता हासिल गरी नेपाली लोक भाषा, कला र संस्कृतिको संरक्षण प्रर्वद्धनमा अहोरात्र खटिइरहनु भएको छ । उहाँले नेपाली साहित्यमा लोक कथा, संस्कृति र लोक सङ्गीत विषयमा दर्जनौं पुस्तक लेख्नु भएको छ । उहाँले सङ्कलन गर्नुभएको ‘कान्छी मट्याङ्ट्याङ’ लगायत दर्जनौं लोक गीतहरू नेपाली लोक गीतमा कालजयी बनेका छन् । उहाँका नेपाली लोककथा, नेपाली लोकबाजाहरू, अङ्ग्रेजी र नेपाली, तुलसी दिवसका कविता, फोकटेल फ्रम नेपाल आदि पुस्तकहरूले अन्तर्राष्ट्रिय रूपमा चर्चा पाएका छन् । उहाँले सुप्रवल गोर्खा दक्षिण बाहू, एकेडेमी अवार्ड, इन्टरनेशनल इमिनेन्ट पोएट एवार्ड, दिनकर अन्तर्राष्ट्रिय साहित्य पुरस्कार जस्ता प्रतिष्ठित पुरस्कार समेत पाउनु भएको छ ।
प्रस्तुत छ उहाँसँग नेपाली लोक संस्कृतिको संरचना, अवस्था र संरक्षणका विषयमा गरिएको कुराकानीः

जीवनको सात दशकको उमेरमा हुनुहुन्छ, दिनचर्या कस्तो चल्दैछ ?

ठ्याक्कै यस्तो भन्ने स्पष्ट छैन । मेरो दिनचर्या परिवर्तनशिल छ । सामान्यतया देशमा घटेका घटनाको चिन्तन गर्दै, नेपाली कला संस्कृतिको अध्ययन गर्दै बित्छ । साथै हाम्रो सांस्कृतिक मूल्यलाई राष्ट्रिय विकासको मार्गमा लैजानलाई सामूहिक कार्य गर्दै, देशभित्र र बाहिर नेपाली लोक संस्कृतिको चिनारी गराउँदै, विभिन्न जातजातिको अध्ययन गर्दै र उनीहरूको उत्थानको निम्ति उत्तरदायित्व बोध गर्दै बित्ने गरेको छ । र मन बहकाउन कहिले काहिँ कविता पनि लेख्ने गर्छु ।

तपाईँलाई लोक संस्कृतिको क्षेत्रमा के कुराले आकर्षित गर्याे ?

हेर्नुस्, म बच्चैदेखि गाउनु पर्ने, नाच्नुपर्ने, लोक नाटक मञ्चन गर्नुपर्ने खालको मान्छे परें । फेरी म धनकुटामा जन्मे हुर्केको मान्छे, गाउने नाच्ने गर्दागर्दै राई, लिम्बुका भाकाहरु टिपियो र, सङ्कलन गर्न लागियो । अनि हुँदाहुँदै अब सङ्कलन गरेर मात्र भएन, यसको त व्याख्या गर्नुपर्ने रहेछ यसले त हाम्रो कथा पो बोकेको छ भन्ने लाग्यो । २०१९ सालमा रेडियो नेपालको लोक गीत प्रतियोगितामा स्वर्ण जितियो । सानै उमेरमा प्रज्ञा प्रतिष्ठानको सदस्य पनि भइयो । त्यसपछि विभिन्न जातजातिको अध्ययन गरियो, समाजशास्त्री, मानवशास्त्री, भाषाविद्हरुसँग मिलेर किताब तयार गरियो । यसरी हुँदाहुँदै यो क्षेत्रमा रस बस्यो ।

जीवनको उत्तरार्धमा आपुग्दा तपाईँ अझै आफूलाई लोक संस्कृति संरक्षण मै खर्चिरहनु भएको छ । लोक संस्कृतिको परिभाषा कसरी दिन सकिन्छ ?

‘जीवनको सुरुवातदेखि अन्त्यसम्म हामीलाई लोक संस्कृतिले गाँजेको छ’

लोक कलालाई परिभाषित गर्न हुँदैन । यसलाई त आफूभित्र अन्तरनिहित गर्नुपर्छ । यो तपाईँ हाम्रो जीवनको अभिन्न अङ्ग हो । जीवनको सुरुवातदेखि अन्त्यसम्म हामीलाई लोक संस्कृतिले गाँजेको छ । लत्ता कपडा, बोलीबचन, संस्कार, गीत सङ्गीत, नृत्य, आस्था, मुल्यमान्यता, गुन्द्रुक, अचार, मस्यौरा लगायतका यी सारा चिज लोक संस्कृति हो । यसर्थ, लोक संस्कृति हाम्रो पहिचान हो ।

अहिलेको पुस्ता लोक कला संस्कृति प्रति कत्तिको चिन्तित छ ?

अहिलेका पुस्तामा हाम्रा लोक संस्कृति प्रति चिन्ता र चासो बढ्दै गएको छ । हाम्रो लोक संस्कृतिमा बिचलन आएकोमा चिन्तित छन् मानिसहरू । धेरै हदसम्म यो चिन्ता जायज पनि छ । तर, हामीले परिवर्तनलाई अङ्गाल्नु पर्छ । लोक संस्कृतिको जगेर्ना गर्ने भन्दैमा ढुङ्गे युगमा त फर्किन भएन नि ! लोक संस्कृति भनेको नदी हो, अविरल बग्दछ ।

‘आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ’

तपाईँ लोक संस्कृतिकै प्रचार प्रसारमा विभिन्न देश पुगिसक्नु भयो, विदेशमा नेपाली लोक संस्कृतिको स्थान कस्तो पाउनुहुन्छ ?

हरेक देशको आफ्नै लोक संस्कृति हुन्छ । छुट्टै संस्कृतिको छुट्टै पहिचान, महत्त्व र कार्य हुन्छ । आवश्यकता, भौगोलिक अवस्था, जातीय बनोट, मूल्य मान्यता आदिले संस्कृतिको निर्धारण गर्छ । तसर्थ नेपाली संस्कृतिको स्थान नेपालमा हुन्छ । तपाईँले नेपालमै त एक जातिबाट अर्काे जातिमा रीतिरीवाज लैजान सक्नुहुन्न । र त्यसो गर्न जरुरी पनि छैन । हरेक संस्कृतिको पृथकतालाई सम्मान गर्नुपर्छ ।
तपाईँ हामीले अहिले लगाएको लुगा अन्त कतैबाट आएको हो । तर अब आवश्यकताले गर्दा यो नेपाली संस्कृति भैसक्यो । यत्ति हो कि, कुनै दुई चार दिन अघि आए, कुनै दुई चारसय वर्षअघि । यो सबै सांस्कृतिक अन्तरसम्बन्धको कारणले हो ।

धर्मले संस्कृतिलाई कत्तिको असर गर्छ ?

अवश्य गर्छ । तपाईँले ब्राहमण क्षेत्री समुदायमा रामायण पढेको सुन्नुहुन्छ, तर किराँत समुदायमा मुन्धुम पढिन्छ । र यो पढ्नेमात्र कुरा हैन, उनीहरूको रीति रीवाज सबै त्यसैबाट निर्देशित हुन्छ । हिमाली समुदायले किन चौपाया पाल्छन् ? तराईका कथामा किन बाघ भालुमात्र आउँछन् ? पहाडका मानिसले किन ठुलो स्वरमा गीत गाउँदैनन् ? हो, धर्मले पनि असर गर्छ । तर, त्यो भन्दा धेरै प्रकृतिले असर गर्छ ।

तपाईँ त नेपालको अधिकांश स्थान घुमि सक्नुभयो । सरसर्ती हेर्दा, नेपालको कुन स्थान चाहिँ लोक संस्कृृतिमा धनी रहेछ त ?

यसरी यो क्षेत्र धनी अथवा गरिब भन्न मिल्दैन । हरेक क्षेत्रको आफ्नै पहिचान हुन्छ । बरु कहाँ धेरै सुरक्षित छ भन्ने कुरा हो । पहाडको गह्रा जस्तो हुँदैन संस्कृति अग्लो होचो हुनलाई । परम्परागत सोच चाँहि धनी अथवा गरिबको हो । तर संस्कृति भनेपछि त्यो दश जनाकै किन नहोस् अथवा दश लाखकै किन नहोस्, संरक्षित गर्नैपर्छ ।

आजकल जातीय पहिचानको खुबै आन्दोलन चर्केको छ नि ? कतै राजनीतिले निश्चित लाभको लागि यो गरिरहेको हैन ?

पहिले त पहिचान के हो बुझ्न सक्नुपर्छ । आफ्नो भाषा, रीतिरीवाज, भेष भूषा, रहनसहन प्रति सबैले गर्व गर्न पाउनुपर्छ । आफ्नो चैँ ठुलो, अरूको चाहिँ सानो भन्ने अधिकार कसैलाई छैन । नत्र कसरी एक सय २५ जातजाति मिलेर बस्ने ? कसरी हुन्छ समावेशिता ? राजनीतिले सोच्नुपर्ने कुरा यही हो । अब बल्ल बहुलवादी सोचको विकास भएको छ । अब यसको निम्ति चाँहि झैँ–झगडा गर्नु हुँदैन । तर, आफ्नो अधिकारको निम्ति लड्ने अधिकार सबैलाई छ ।

यस्तो व्यापक रहेको लोक संस्कृतिको संरक्षण चाँहि हामी कसरी गर्न सक्छौँ ?

हिमालमा बस्नेले गलैँचा बुन्छ, तराईमा बस्नेले खेतिपाती गर्छ, पहाडमा बस्नेले पशुपालन गर्छ । कुनै जातीले सङ्गिनी नाच्छ, कुनै जातीले साकेला । यी सबैको सम्मान एवम् प्रवद्र्धन गर्नु नै लोक संस्कृतिको संरक्षण गर्नु हो । एक अर्का जातिबिच समभावना र सहकार्य गर्नु नै लोक संस्कृतिको संरक्षण गर्नु हो । जे कुरा लोकले सृजना गर्याे, त्यसको दायित्वबोध गर्नु नै लोक संस्कृतिको संरक्षण गर्नु हो ।
हामीले हिन्दुस्तानी गीत गाएर किन उनीहरूसँग प्रतिस्पर्धा गर्नुपर्याे ? हामीले आफ्नै गीत सङ्गीतलाई बाहिर लानुपर्छ । लोक संस्कृति भनेको समाजको सृजना हो । औपचारिक शिक्षाले भन्दा सहभागिता महत्त्वपूर्ण हुन्छ । यसको संरक्षण गर्दा हामीले समाजको संरक्षण गरेका छौँ भन्ने बुझ्यो भने हामीले लोक संस्कृतिको संरक्षण गर्न सक्छौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =