नेपाली कांग्रेस संसदीय बोर्ड बैठक सुरु


कार्तिक ८, काठमाडौं । नेपाली कांगेसको संसदीय बोर्डको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान देखि पार्टी संसदीय बोर्डको बैठक सुरु भएको हो ।
प्रदेश सभा र प्रतिनिधि सभाको दोश्रो चरणको निर्वाचन हुने क्षेत्रबाट सिफारिस भएका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाउने विषयमा नै बैठक केन्द्रीत हुने बताईएको छ । त्यसैगरी गठबन्धनमा रहेका राजनीतिक दलहरुसँगको निर्वाचनमा सहकार्यता लगायत विषयमा पनि बैठकले ठोस निष्कर्ष निकाल्ने छ ।
सिफारिस भएर आएका नाममाथिको व्यापक छलफल पछि चुनाव जित्न सक्ने, योग्य, लोकप्रिय र पार्टीमा निरन्तर क्रियाशिल सदस्यलाई उम्मेदवारको रुपमा अघि सारिने केन्द्रीय सदस्य डाक्टर प्रकाशशरण महतले जानकारी दिए ।
पहिलो चरणको निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार चयनमा पार्टीमा पुर्याएको योगदान र क्रियाशिलतालाई नहेरी नातावाद र कृपावादमा नाम चयन गरिएको भन्दै कांग्रेस नेतृत्वको आलोचना हुदै आएको छ । लामो समयसम्म पार्टीमा योगदान पुर्याउनेलाई पाखा लगाएको भन्दै कार्यकर्ता नेतृत्व प्रति रुष्ठ बन्दै आएका छन् । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटरमा बैठक चलिरहदा कार्यालय बाहिर चुनावमा टिकट माग्ने, सिफारिस गर्ने स्थानीयस्तरका नेता कार्यकर्ताको उल्लेख्य भीड थियो ।








