राेनाल्डाेको गाेल खेर, रियल च्याम्पियन्स लिगमा पराजित

एजेन्सी । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड च्याम्पियन्स लिगको समूह चरणको खेलमा पराजित भएकाे छ । इंग्लिस क्लब टोटेनहामसँग म्याड्रिड ३–१ गोलकाे अन्तरले पराजित भएकाे हाे । बिहीबार बिहान इंग्ल्यान्डको विम्बलेमा सम्पन्न समूह ‘एच’ तर्फको खेलमा डाले अलिको २ तथा क्रिस्टियन इरिक्सनको १ गोलको सहयोगले टोटेनहामले डिफेन्डिङ च्याम्पियनलाई स्तब्ध पारेको हो । म्याड्रिडका लागि एक मात्र गोल ८० मिनेटमा क्रिस्टियानो रोनाल्डोले फर्काए । यसअघि घरेलु टोलीले अलिको २६ र ५६ मिनेटको गोलको सहयोगले सुरुमै अग्रता बनाएको थियो । भने, ६५ अाै मिनेटमा इरिक्सनले तेस्रो गोल थपेका थिए ।

गत सिजन समूह चरणबाट बाहिरिएको इंग्लिस टोली बिहीबारको जितपछि ४ खेलबाट १० अङ्क बटुल्दै नकआउट चरणमा प्रवेश गरेको छ । म्याड्रिडको भने दोस्रो चरणमा प्रवेश गर्ने आशा पुरा हुन सकेन् । ह्यामस्ट्रिङ समस्याले बाहिर रहेका स्ट्राइकर हेरी किन टोलीमा फर्किएपछि टोटेनहाम थप धारिलो बनेको थियो । इंग्लिस क्लबले बेल्जियमका डिफेन्डर टोबी अल्डरविरेल्डलाई ह्यामस्ट्रिङ कै समस्याका कारण २४ मिनेटमा गुमायो । उनी केही साता टोलीबाट बाहिरिन सक्ने सम्भावना बढेको छ । अलि म्याड्रिड विरुद्ध च्याम्पियन्स लिगको एउटै खेलमा २ गोल गर्ने दोस्रो इंग्लिस खेलाडी बन्न पुगेका छन् । यसअघि २००९ मा स्टिभन जेरार्डले यो कीर्तिमानलाई आत्मसाथ गरेका थिए । उनको सिजनको छैटौँ गोल पनि थियो ।
टोटेनहामले छैटौँ प्रयासमा म्याड्रिडलाई पराजित गरेको हो । यसअघि टाेटेनहाम ५ खेलमा म्याड्रिडसँग पराजित हुँदै आइरहेको थियो । २०१२ यता च्याम्पियन्स लिगको समूह चरणको खेलमा म्याड्रिड पहिलो पल्ट पराजित पनि भएको हो । उसको ३० खेलको अपराजित यात्रा पनि टुँगिएको छ । युभेन्ट्ससँग २००८ मा २–० ले पराजित भएपछि म्याड्रिडको समूह चरणको खेलमा यो सबैभन्दा धेरै गोल अन्तरको पराजय हो । यही समूहअन्तर्गत बोरुसिया डर्टमुन्ड र एपोइल निकोसियाबीचको खेल १–१ गोलको बराबरीमा रोकिएको थियो ।








