दुबईमा एक नेपाली दम्पत्तीको रहस्यमय मृत्यु

भदाै १३, काठमाडाै । वैदेशिक रोजगारीको क्रममा दुबई पुगेका एक नेपाली दम्पत्तीको रहस्यमय मृत्यु भएको छ । यद्यपी घटनापछि विभिन्न अनुमानहरू बाहिर अाएको छ । भने, दुबर्इ प्रहरीले घटना बारे छानविन भइरहेको जनाएको छ । चितवन रत्ननगर स्थायी ठेगाना भएका पर्शुराम सापकोटा र कल्पना सापकोटा शनिबार साँझ दुबईस्थित आफ्नै कोठामा मृत फेला परेका थिए । पर्शुरामको शव कोठाको सिलिङमा झुण्डिएको अवस्थामा फेला परेको थियो भने कल्पनाको घाँटी रेटिएको अवस्थामा फेला परेको थियो ।
कल्पना दुबई मलस्थित एक रेष्टुरेन्टमा काम गर्थिन् भने पर्शुराम होटलमा सहायक कुकको काम गर्थे । दम्पत्तीमध्ये कल्पना तीन वर्षअघि दुबई गएको र पर्शुराम भर्खरै मात्र त्यहाँ पुगेको परिवारले जनाएको छ । कल्पनाका आफन्तहरुका अनुसार श्रीमती वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेपछि उनीहरुको सम्बन्ध त्यति सुमधुर रहन सकेको थिएन । कल्पनाका माइती पक्षका दाजुभाइ मिलेर यो जोडीको सम्बन्ध राम्रो होस् भन्ने हेतुले पर्शुरामलाई पनि श्रम भिसामा दुबई ल्याउने प्रयत्नमा लागेका थिए ।

‘पर्शुरामलाई केही महिना अगाडि मात्र यहाँ ल्याएर श्रीमान र श्रीमतीलाई सँगै राखिएको हो । उनीहरु हामी मिलेर जीवनयापन गर्छौं भनेर हामीसँग प्रतिवद्धता पनि व्यक्त गरेका थिए’ दुबईमा नै रहेका एक आफन्तले भने, ‘तर एकाएक यस्तो घटना भयो, घटना के कारणले भयो भन्ने बारे हामीले कुनै भेउ पाउन सकेका छैनौं ।’
उनले दुबैको सम्बन्धमा देखिएको तिक्तक्ताका कारणले यस्तो घटना भएको हुन सक्ने अनुमान गरेका छन् । पर्शुराम र उनकी श्रीमतीको मृत्युपछि यता नेपालमा रहेका पर्शुरामका परिवारका सदस्यले उनीहरुको हत्या भएको आशंका गरेका छन् । ‘उनीहरुसँग पैसा थियो, त्यही पैसाका लागि हत्या भएको हो’ पर्शुरामका परिवारले यस्तो तर्क गर्दै आइरहेका छन् ।छोराबुहारी दुवै जनाको मृत्युपछि पर्शुरामकी आमा मिस सापकोटा अचेत भएकी छन् ।








