त्यतिबेला महिला इन्जिनियरहरु थिएनन्

                   प्रतिभा वैद्य, प्रवक्ता, नेपाल टेलिकम

हामी थ्रीजीबाट फोरजी सेवामा प्रवेश गरेका छौँ । पुरानो प्रविधिलाई आत्मसात् गर्दैै नयाँ प्रविधिको सुरुवाती गरेका छौ । पहिले सेवा सञ्चालनका लागि तार नै जडान गर्नुपर्ने बाध्यता थियो तर अब त्यो बाध्यता हटेको छ । सबैको हात हातमा मोबाइल छ । विश्वको जुनसुकै कुनामा घटेका घटनाहरू सेकेण्ड भरमा थाहा भइहाल्छ । अब यसलाई कसरी वैज्ञानिक तवरले सेवा विस्तार गर्न सकिन्छ भन्ने उद्धेश्यले फोरजी सेवा सञ्चालनमा ल्याउँदै छौँ । त्यसैले कपर सेवालाई त्यागेर आइपी सेवामा जाँदैछौँ । यसकारण नयाँ प्रविधिको सेवाले ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्नेछ । 

सञ्चारमार्फत जनसेवा गर्दा कस्तो अनुभूति भइरहेको छ ?

दूर सञ्चार क्षेत्रमा रहेर आफ्नो जिम्मेवारी सम्हालेको दुई दशक बढी भएको छ । पहिले र अहिलेको आमसञ्चार क्षेत्रमा अकास पतालको फरकपन छ । पहिले कुनै सूचना थाहा पाउन महिनौँ लाग्थ्यौँ तर अहिले त्यस्तो छैन । त्यसैले सर्वप्रथमतः प्रवक्ता भएर जिम्मेवारी सम्हाल्ने मौका पाएको छु । यसैमा खुसी छु । जहाँ बसेर काम गरे पनि सबैभन्दा पहिले इमान्दारिता, असल र परिश्रमी हुनुपर्छ । कुराका भरमा विकास असम्भव छ । हामी महिला जसरी इमान्दारिपूर्वक घर व्यवहार सम्हाल्छौ त्यसरी नै अन्य क्षेत्रमा पनि काम गर्छौ । त्यसैले मलाई के लाग्छ भने महिलाहरुमा इमान्दारिता भन्ने हुन्छ । यसर्थ पुरुषमा हुँदैन भन्नेचाहिँ होइन । महिलाहरू इमान्दारितापूर्वक आफ्नो कामकारबाही व्यवस्थापन गर्छन् । मेरो सन्दर्भमा पनि यहीँ हो ।

जिम्मेवारी निर्वाह  कसरी गरिरहनुभएको छ ?

जनसेवाको हिसाबले भन्ने हो भने प्रवक्तासँगै प्रमुख व्यावसायिक अधिकृतको कार्यलय प्रवन्धक पनि हुँ । प्रविधिको विकाससँगै विश्व समाजमा रूपान्तरण भएको । विश्वमा नयाँ नयाँ प्रविधिको आगमन भइरहको छ । हामीले पनि ती सेवालाई जनतासामु सक्दो रूपमा पुर्‍याउने कोसिस गरिनै रहेका छौँ । प्रवक्ता भएर जिम्मेवारी सम्हालेको दुई वर्ष बितेको छ ।

के कस्तो अनुभव बटुल्नुभो ?

मैले यस क्षेत्रमा पाइला टेक्दा बिरल्लै महिला इन्जिनियरहरु देखिन्थे । निकै समय काम गर्न गाह्रो पनि भयो । पछि बुझ्दै गएपछि सहज भयो । किताबी अध्ययनले मात्र केही नहुनेरहेछ । प्राविधिक ज्ञान अनिवार्य रहेछ भन्ने महसुस भयो । त्यसैले जुनसुकै क्षेत्रमा गएपनि अनुभव नै सबैभन्दा महान् रहेछ । अनुभवले नै कुन सही कुन गलत हो भन्ने छुट्याउँछ । त्यसैले मैले पनि जीवनमा यी खुुट्किलाहरु पार गरेर यहाँसम्म आइपुगे । त्यसैले सङ्घर्ष गर्दै जाँदा अनुभव पनि बटुलिदै गइन्छ । यसकारण जहाँ गएपनि अनुभवसँगै ज्ञान चाहिन्छ ।

के कस्तो चुनौतीहरू भोग्नु भयो ?
महिला स्वतन्त्रताका कुराहरू बाहिर जति सुनिएपनि महिलाले घर व्यवहार सम्हाल्नु पर्ने हुन्छ । त्यसैले एउटा महिला भएर घर र कार्यलयको व्यवहार सम्हाल्नु उत्तिकै चुनौती छ । दुवैतिर खटिनुपर्ने भएका कारण परिवारलाई समय दिन गाह्रो हुनेरहेछ । तर, कसरी हुन्छ उपयुक्त वातावरण जुटाउनु नै महान् कुरा रहेछ । त्यसैले अनुभवसँगै ज्ञान आवश्यक छ भन्नुको अर्थ यहाँ आवश्यक छ । त्यसैले जीवनमा भोगिएकोे अनुभव ओकल्ने ज्ञान नै हो । ज्ञान जति बढ्छ त्यति नै समस्याहरूको समाधान गर्न सकिन्छ । कुनै समय महिला भएर काम गर्न सकिँदैन भन्ने मान्यता थियो तर अहिले त्यो सोच्न पनि सकिन्न । देशको कार्यकारी पदमा महिला नै हुनुहुन्छ । उहाँलाई पनि त्यत्तिकै त्यो पद दिइएको होइन । उहाँका पनि देशप्रति योगदानी छ । अनुभव छ । अरू जत्तिकै ज्ञान पनि छ ।

प्रसङ्ग बदलौँ, यस वर्ष अर्बौ रकम राजस्व बुझाएको नेपाल टेलिकमले ग्राहकहरुलाई किन भनेजस्तो सेवा सुविधा दिन नसकेको होला ?
जुनसुकै ठाउँमा काम गर्दै जाँदा बाधा, अड्चन त आइपर्छ नै । तर, त्यो समस्या आइपर्यो भन्दैमा आत्तिनुपर्छ भन्ने छैन । अनुभव र ज्ञान बटुल्नु नै ठुलो कुरा हो । यसैले हरेक कुराको सेवा सुविधा दिन्छु भनेर मात्र हुँदैन । चौतर्फी त्यसको मूल्याङ्कन गर्नुपर्छ । सफ्टवेयर, हार्डवेयरदेखि सबै कुराहरूको ज्ञान चाहिन्छ । त्यसपछि प्रक्रियामा जाँदा समय लाग्छ नै । आजको आज नै सेवा सुविधा दिन सम्भव छैन । यसका लागि समय लाग्छ । अहिलेसम्म हामीले हाम्रो क्षमतालाई सदुपयोग गरेर जनतासामु सेवा सुविधा दिइरहेका छौँ । हामी थ्रीजीबाट फोरजी सेवामा प्रवेश गरेका छौँ । पुरानो प्रविधिलाई आत्मसात् गर्दैै नयाँ प्रविधिको सुरुवाती गरेका छौ । पहिले सेवा सञ्चालनका लागि तार नै जडान गर्नुपर्ने बाध्यता थियो तर अब त्यो बाध्यता हटेको छ । सबैको हात हातमा मोबाइल छ । विश्वको जुनसुकै कुनामा घटेका घटनाहरू सेकेण्ड भरमा थाहा भइहाल्छ । अब यसलाई कसरी वैज्ञानिक तवरले सेवा विस्तार गर्न सकिन्छ भन्ने उद्धेश्यले फोरजी सेवा सञ्चालनमा ल्याउँदै छौँ । त्यसैले कपर सेवालाई त्यागेर आइपी सेवामा जाँदैछौँ । यसकारण नयाँ प्रविधिको सेवाले ग्राहकहरुलाई गुणस्तरिय सेवा प्रदान गर्नेछ ।

निजी कम्पनी सेवा(एनसेल) भन्दा किन पछि परेको ?

हुनसक्ला । तर, मलाई त्यस्तो लाग्दैन । हामीले आफ्नो तहतप्काबाट सक्दो प्रयासहरू गरिनै रहेका छौँ । यो वर्ष सबैभन्दा बढी राजस्व पनि यहीँ कम्पनीले तिरेको हो । तर, देशका ग्रामीण भेगमा सेवा सञ्चालनमा पहँुच नपुग्नु अलि समस्याको विषय हो । तर, अब चाँडै त्यो वातावरण निर्मांण हुँदैछ ।

कहिले पुग्ला त सेवा ?ग्रामीण क्षेत्रमा सेवा पुर्‍याउन त्यस्तो कुुनै समस्या छेन । र, प्रचुर सम्भव छ । तर, यसका लागि धेरै कुराहरू आवश्यक पर्छन् । यसका लागि राज्य नै लागिपर्नुपर्ने हुन्छ । अर्कातिर यो क्षेत्रमा खटिएका अनुभवी र अध्ययनशिल दक्ष व्यक्ति छन् वा छैनन् । मूल समस्या यहीँ नै हो । टु जी बाट थ्री जी हुँदै अहिले फोर जी सेवा सञ्चालन सजिलै भएको होइन । यसकारण मोबाइलमा डेटा सेवा चलाउनका लागि इन्टरनेट सेवा चलाउन जान्ने मान्छे नै चाहिन्छ । यसकारण यो विषयमा पनि ध्यान केन्द्रित गर्नुपर्छ । सहरी क्षेत्र हुँदै ग्रामीण भेगमा सेवा सञ्चालन हुँदै आएका छन् ।

अझै सम्भव नै रहेनछ त ?
हैन । हैन । अहिले देशका ७५ जिल्लामा थ्री जी सेवा पुगिसकेको छ । अब, फोर जी पनि पुर्‍याउने लक्ष्य राखेका छौँ । यसकारण सेवा पुर्याएर मात्र हँुँदैन । सेवा सञ्चालनबारेमा जानकारी पनि दिनुपर्छ । इन्टरनेट सेवा चलाउन सक्ने क्षमता पनि हुनुपर्यो । जसले ग्रामीण भेगको उत्थान गर्न सकोस् । यसकारण सेवा पुर्‍याउन धेरै कठिन होइन त्यसका लागि आवश्यकीय पद्धति र प्रक्रियाहरू नै प्राथमिक कुराहरू हुन् । अब केन्द्रभन्दा स्थानीय तह बलियो भएपछि यो सेवा नपुग्ने कुरा नै भएन । यसका लागि हामीले कसरी हुन्छ जतिसक्दो चाँडो सेवा विस्तारका लागि लागि परेका नै छौँ ।
अर्कातिर, ०७२ अवधिभर कम्पनीको डाटा सेवा प्रयोगकर्ता करिब एक करोडको हाराहारीमा रहेको छ । भने ग्राहक सङ्ख्या डेढ करोड बढी रहेका छन् । यसमध्ये जीसीएम मोबाइलका ग्राहक एक करोड १७ लाख नाघेको छ । त्यस्तै, सीडीएमए सेवाका ग्राहक करिब १५ लाख पुगिसकेका छन् । ग्रामीण क्षेत्रमा यो सेवालाई अत्याधुनिक प्रविधिको आइपी सीडीएमए २० लाख लाइनबाट स्तरोन्नति गरी सेवा सुरु गरिसकिएको छ ।

त्यसो भए बाधा आएको चाहिँ कहाँनिर हो ?
स्रोत र साधनलाईं कसरी परिचालन गर्ने ? समस्या चाहिँ यहीँ हो । यसकारण प्रविधिको विकाससँगै विकृति घट्न नदिन व्यक्तिको मनोवैज्ञानिकमा भर पर्ने कुरा हुन् । हामीले यस्ता विकृति निम्त्याउनका लागि सेवा सञ्चालन गर्न खोजेका होइनौँ । समाज विकाससँगै विचारको दायरा फराकिलो बनोस् भन्ने हेतुले नै यो सेवा सञ्चालन गर्न लागिपरेका हौँ । त्यसैले हरेक कुरामा सकारात्मकसँगै नकारात्मक बस्तु जोडिएर त आउँछ नै । यसैले विकृति पैदा गर्नुमा व्यक्तिकै हात रहन्छ भने त्यसलाई रोक्न पनि उसकै भूमिका अपरिहार्य रहन्छ । त्यसैले उसँग बत्तीसँगै स्विच पनि छ । यसकारण पहिले त मानिस चेतनशिल हुनुपर्छ । त्यसपछि यस्ता घटनाहरू आफैँ सतहमा आउछन् । विकसित देशमा यस्ता घटनाहरू बिरल्लै घट्छन् । कारण, त्यहाँका मानिसहरू चेतनशिल छन् ।

नयाँ प्रविधिको आगमन भयो भन्ने सुनिन्छ तर सेवा उस्तै होला नि,
हो । केही समयअघि ग्वार्काेमा नयाँ प्रविधि विषयमा कार्यक्रम पनि आयोजना गरियो । पुरानो (कपर) प्रविधिलाई हटाएर नयाँ (एडीसेल) प्रविधि कसरी दिन सकिन्छ भन्नेमा पनि छलफल भयो । त्यसैले अब सबै क्षेत्रमा सत प्रतिशित इन्टरनेट पहुँच पुर्याउँदै छौँ । त्यसैले नयाँ प्रविधिको विस्तार भएको छ ।

अब,चीनको इन्टरनेट कहिले चलाउन पाइन्छ ?
अहिले हामीले भारतको इन्टरनेट ब्यान्डविथ सेवा चलाइरहेका छौँ । अब चाँडै नै चीनबाट पनि सेवा सञ्चालन गर्न लागि परेका छौँ । त्यसैले सेवा विस्तारका क्रममा हरेक क्षेत्रतर्फ ध्यान दिनुपर्छ । यसमा कुनै एउटाको मात्र सेवा चलाइनुपर्छ भन्ने छैन । जताको सेवा प्रविधि छिटो र छरितो ग्राहकमाझ पुर्‍याउन सकिन्छ यहीँ नै प्राथमिक कुरा । यसकारण मुख्यतयाः ग्राहकलाई मध्यनजर गरेर नै यो सुविधा भित्र्याउन लागि परेका हौँ । अब चाँडै नै यो सुविधा भित्रने छ । सरकारले अगस्ट महिनाभरमा यो सुविधा ल्याउने प्रतिवद्धत जनाएको छ । सायद त्यो समयसीमाभित्र यो सेवा आइपुग्छ । यसका लागि हाम्रो तर्फबाट सक्दो प्रयासहरू गरिनै रहेका छाँै ।

तपाईका आगामी योजनाहरू के के छन् ?
मैले प्रवक्तासँगै व्यापारिक क्षेत्रतर्फ पनि जिम्मेवारी निर्वाह गर्दै आएको छु । यस हिसाबले ग्राहकको चाहनाअनुरुप नयाँ नयाँ स्किमहरु ल्याउने । त्यस्तै नयाँ डेटा प्याकेजहरु ल्याउने र अन्य सेवा सुविधाहरू ग्राहकहरुलाई उपलब्ध गराउने नै मुख्य योजनाहरू छन् । यसकारण कम्पनीले गरेका निर्णयहरुलाई मध्यनजर गर्दै आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको छु । काम गर्दै जाँदा अनेक समस्या, बाधा एवं टीकाटिप्पणीहरु आउँछन् । त्यसलाई पनि पार गर्न सक्नुपर्छ । त्यसैले सबै क्षेत्रमा कसरी सेवा विस्तार गर्न सकिन्छ भन्ने नै मुख्य योजना छ भने एकजनाले होइन सबैले सहज रूपमा सेवा लिन सकौँ भन्ने मेरो प्राथमिक योजना रहेको छ ।

अब तपाईँको आकाङ्क्षा के हो ?
एउटा पदमा पुगिसकेको मानिसलाई फेरि अर्काे पदमा पुग्न खोज्नु स्वभाविक पनि हो । तर, कति दक्ष, इमान्दारिता अनुभवी र अध्ययनशील छु भन्ने नै मूल प्रश्न हो । त्यसैले आफ्नो क्षमताअनुरुपको काम पाउँने हो । र, क्षमता, अनुभव र अध्ययन बढेसँगै कुने बस्तुप्रति आकाङ्क्षा पैदा हुने हो । त्यसैले मेले त्यस्तो कुनै ठुलो आकाङ्क्षा पनि राखेको छैन । मेरो सङ्घर्ष र परिश्रअनुरुपको सम्मान पाउँनेछु । यसकारण,आफ्नो सीप,क्षमतालाई सबै नेपालीहरुमाझ कसरी देखाउन सकिन्छ भन्ने पनि हो ।

अन्त्यमा केहिँ भन्नुहुन्छ कि ?
पदमा बस्नु ठुलो कुरा होइन । त्यस ठाउँमा बसेपछि जिम्मेवारी कसरी सम्हाल्ने भन्ने मुख्य विषय हो । त्यसैले पद पाउनु ठुलो कुरा होइन । आफू कति क्षमतावान् छु भन्ने नै जटिल प्रश्न हो । अहिले प्रवक्ता र व्यवस्थापनतर्फको जिम्मेवारी सम्हालीरहेको छु । मलाई कुनै पदको लोभ लालच भएर पद ओगटेको होइन । आफूसँगको क्षमता पनि प्रदर्शन गरौँ भन्ने हो । भोलि मेरो ठाउँमा अरू जो कोही दक्ष र अनुभवी व्यक्ति आउनुहुन्छ । उहाँले पनि आफ्नो क्षमता प्रदर्शनी गर्नुपर्छ । यसकारण मलाई अझ सक्षम र दक्ष बन्न पनि प्रेरणा मिलेको छ । सबैबाट सल्लाह, सुझावसहित प्रतिक्रिया पाइरहन्छु । त्यसैले पद भन्दा ठुलो आकाङ्क्षा भनेको ग्राहकहरुलाई कसरी सन्तुष्ट पार्न सकिन्छ ।

                                                                                                                  प्रस्तुतिःलोक राज रुम्दाली 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =