मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं, मंसिर ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान बिथोल्न खोज्ने समूहलाई असफल बनाएर जनतालाई निर्धक्क रुपमा मतदान गर्ने वातावरण बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनु भएको छ । गृहमन्त्रालयमा आज आयोजित प्रदेश नम्बर तीन स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सुरक्षाका विषयमा कसैसँग सम्झौता नगर्न निर्देशन दिनु भएको हो ।
प्रधानमन्त्रीले सरकार निर्वाचनका लागि आवश्यक सबै सुरक्षाको प्रवन्ध मिलाउन प्रतिवद्ध रहेको जानकारी दिदै आम मतदातालाई भड्काउने, मतदानस्थल कब्जा गर्ने मनसाय पनि सुरक्षाको चुनौती बन्नसक्नेतर्फ सचेत रहन आग्रह गर्नुभयो । सबै सुरक्षा निकायले सुरक्षा प्रणालीमा तहगत निर्देशनलाई उचित रुपमा परिपालना गर्नुपर्ने उहाँको धारणा थियो ।
कार्यक्रममा गृह सचिव मोहनकृष्ण सापकोटाले निष्पक्ष, भयरहित र स्वतन्त्र निर्वाचन सम्पन्न गर्न निर्वाचन अघि, निर्वाचनमा र निर्वाचनपछिका तीनै चरणमा सुरक्षा दिनका लागि सुरक्षा योजना कार्यान्वयनमा ध्यान केन्द्रित गर्न निर्देशन दिनुभयो ।








