माल्दिभ्स: राजनीतिक हस्तक्षेप गर्न भारत र अमेरिकालाई नासिदको आग्रह

माल्दिभ्स, माघ २४ । माल्दिभ्समा राजनीतिक संकट चुलिँदै जाँदा पूर्व राष्ट्रपति मोहम्मद नासिदले राजनीतिक हस्तक्षेप गर्न भारत र अमेरिकालाई आग्रह गर्नुभएको छ ।
हाल श्रीलङ्कामा निर्वासित जीवन बिताइरहेका नासिदले सेनासहित माल्दिभ्समा भौतिक उपस्थिति जनाउन भारत र अमेरिकालाई आग्रह गर्नुभएको बीबीसीले उल्लेख गरेको छ ।
राष्ट्रपति अब्दुल्लाह यामीनले संकटकालको घोषणा गरी केही प्रधानन्यायाधीश, न्यायाधीश र विपक्षी दलका केही नेताहरुलाई पक्राउ गरेपछि माइक्रोब्लगिङ साइट ट्वीटरमार्फत नासिदले पक्राउ परेकाप्रधानन्यायाधीश, न्यायाधीशहरू र राजनीतिक बन्दीहरूको रिहाइका लागि पहल गर्न भारतलाई अनुरोध गर्नुभएको छ ।
यस्तै नासिदले सत्तारूढ नेताका सबै आर्थिक कारोबार रोक्न अमेरिकालाई समेत आग्रह गर्नुभएको हो । यसअघि राजनीतिक संकट गहिरिएपछि माल्दिभ्स सरकारले १५ दिनकालागि संकटकालको घोषणा गरेको छ ।
सरकारले संकटकाल घोषणा गरेलगत्तै प्रधानन्यायधीश अब्दुल्लाह सइद र अन्य केही न्यायाधीशलाई नियन्त्रणमा लिएको थियो ।








