सेनाको कदम ‘कु’ जस्तो: अफ्रिकी सङ्घ

एजेन्सी । अफ्रिकाको प्रमुख क्षेत्रीय सङ्गठन अफ्रिकी सङ्घले जिम्बाब्वेमा सेनाले शक्ति हातमा लिएको र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राखेको घटना ‘कु जस्तो देखिएको’ बताएको छ ।

सङ्घका प्रमुख अल्फा कोन्डेले अफ्रिकी सङ्घले जिम्बाब्वेलाई पुन: संवैधानिक प्रक्रियामा फर्कन माग गरेको छन् । सत्ता हातमा लिएको अस्वीकार गर्दै जिम्बाब्वेको सेनाले राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको र उनी वरपर रहेका अपराधीविरुद्ध आफूले कारबाही गरिरहेको जनाएको छ ।

मुगाबेको उत्तराधिकारी को हुने भन्ने शक्ति सङ्घर्षका माझ सेनाले उक्त कदम चालेको हो । जिम्बाब्वेमा सेनाले शक्ति हातमा लिएको जस्तो देखिने घटनाको त्यहाँका धेरै नागरिकले अनिच्छासहित स्वागत गरेका छन् ।

उच्च सैनिक अधिकारीहरुलाई विश्वासमा नलिइ अघिल्लो हप्ता उपराष्ट्रपति एमरसन मनाङग्याग्वालाई पदबाट बर्खास्त गरिएको थियो भने राष्ट्रपति पत्नी ग्रेसलाई सम्भावित उत्तराधिकारीको रूपमा प्रस्तुत गरिएको थियो । मुगाबे पत्नी नामिबिया गएको खबरहरु आएका छन् ।

गम्भीर खालका हिंसाको केही खबरहरु आएका छैनन् तर राष्ट्रपति मुगाबेलाई उनकै घरमा नजरबन्द गरिएको छ भने केही मन्त्रीहरुलाई थुनामा राखिएको छ । बीबीसी संवाददाताका अनुसार राजधानी हरारेमा धेरै मानिसहरूले मुगाबे कालको अन्त्यको अपेक्षा गरिरहेका छन् ।

उता सत्तारुढ जानु-पीएफ पार्टीका कतिपय प्रभावशाली सदस्यहरूले भने पूर्व विद्रोही नेताले आफ्नो परिवारलाई राजनीतिमा स्थापित गर्न खोज्दा यो अवस्था आएको प्रतिक्रिया दिएका छन् । वयोवृद्ध राष्ट्रपति मुगाबेलाई अझै ग्रामीण भेगका मानिसले भने समर्थन गर्छन् । सन् १९८० मा ब्रिटेनबाट जिम्बाब्वे स्वतन्त्र भए यता ९३ वर्षीय मुगाबे देशको राजनीतिमा निरन्तर हाबी हुँदै आएका छन् ।

पछिल्ला घटनाक्रमहरू विकसित भइरहँदा गिनीका राष्ट्रपतिसमेत रहेका अफ्रिकी सङ्घका प्रमुख कोन्डेले जिम्बाब्वेको सेनाले निश्चित रूपमा सत्ता हातमा लिने प्रयास गरेको बताए । सङ्घले जारी गरेको विज्ञप्तिमा जिम्बाब्वेको अवस्थाप्रति गम्भीर चिन्ता प्रकट गरिएको छ र देशका कानुनसम्मत निकायहरुलाई पूर्ण समर्थन व्यक्त गर्ने प्रतिबद्धता दोहोर्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eleven =