‘मलाई राज्य संयन्त्र नै लागेर षड्यन्त्र गरेर हराईयो’ चौधरी

मङ्सिर, २७, सुनसरी । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ बाट बाम गठबन्धनकी साझा उम्मेदवार भगवती चौधरीले राज्य संयन्त्र नै लागेर आफूलाई पराजित गरेको बताउनु भएको छ । आज दिउसो सुनसरी ३ को मतगणना पछि इटहरीमा पत्रकार सम्मेलन गरेरै चौधरीले जितेको चुनाव षड्यन्त्र गरेर हराएको दाबी गर्नु भएको हो ।

चौधरीले जनताले आफूलाई बहुमत दिएपनि राज्य संयन्त्रकै मिलेमतोमा हराईएको जिकिर गर्नु भएको हो । ‘जसरी ७० सालमा दोस्रो संविधानसभामा मलाई हराईयो। अहिले त्यही भएको छ ।’ नेतृ चौधरीले भन्नु भयो । उहाँले जनताले दिएको अभिमतको संरक्षण गर्न आफू राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा कानुनी उपचार खोज्न समेत जाने समेत जिकिर गर्नुभयो । ‘जनताले म प्रति देखाएको विश्वास र भरोसा जोगाउनका लागि म अब राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्मै जानुपरे पनि जान्छु ।’ उहाँले भन्नु भयो ।

सुनसरी ३ सिमरिया स्थित जनता निमाविमा खटिएका मतदान अधिकारी अाफैं मतदान गर्दै ।

उहाँले अहिलेको परिणाम आफू र आफ्नो पार्टीलाई स्वीकार्य नभएको भन्दै सत्ता, शक्ति र पैसाको आडमा आफूलाई धाँधली गरेर हराइएको भन्दै निष्पक्ष छानबिनका लागि माग गर्नुभयो । ‘सबैलाई प्रस्ट रूपमा थाहा छ मलाई कसरी हराईयो, अब सरकार र न्यायालयले मलाई न्याय दिनुपर्छ ।’

नेतृ चौधरीले मतदान अघिकृतले चुनावका दिन मुचुल्का उठाउन प्रयोग गरिने खाली कागजपत्र र मतपेटिका शील गर्न प्रयोग गरिने बस्तु च्यातिएको अवस्थामा मतगणनास्थल बाहिर भेटिनु षड्यन्त्र भएको दाबी गर्नुभयो ।

मतगणनाको क्रममा अर्धकट्टि सहितको नौ वटा मतपत्र भेटिएपनि सिरियल नम्बर समेत हेर्न नदिएको चौधरीको दाबी छ । भने, मतगणना स्थलमा सीसी क्यामरा राख्न नमानिएको, मतदानस्थलमा काँग्रेसका कार्यकर्तालाई मोबाइल समेत प्रयोग गरेर फोटो र भिडियो खिच्न दिइएको समेत दाबी गर्नुभयो ।

 

निर्वाचनमा प्रत्यक्षरुपमा आफूलाई हराउन निर्वाचन अधिकृृत टिकाभुषण घिमिरे, जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरिक्षक विद्यानन्द माझी, इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी निरिक्षक शैलेश न्यौपाने समेत लागि परेको उहाँको दाबी थियो । चौधरीले निर्वाचन अधिकृत, प्रहरीका अधिकारीले प्रत्यासी उम्मेद्वारको पक्षमा काम गरेको, चिमडी मतदान केन्द्रमा वरिष्ठ प्रहरी उपरिक्षक माझीले मतदानका दिन बिहान देखि बेलुकीसम्मै मतदाताहरुलाई रुख चिन्हमा भोट हाल्न सिकाएको समेत जिकिर गर्नुभयो ।

उहाँले उच्चस्तरीय छानबिन समिति गठन गरी निष्पक्ष र धाँधली रहित तवरबाट पुनः मतदानको माग समेत गर्नुभएको छ । पत्रकार सम्मेलनमा सुनसरी क्षेत्र नम्बर ३ ‘ख’ का विजयी उम्मेदवार लिलम बस्नेतले वामपन्थी उम्मेद्वारलाई हराउन सेटिङ्ग गरेर एकलौटी मतदान समेत भएको दाबी गर्नुभयो । उहाँले सोनापुर छातावेली स्थित एक मतदान केन्द्रमा काँग्रेसका प्रतिनिधिले आफूलाई मतदान स्थलमा प्रवेश गर्नै नदिएको र सो कार्यको विरोध गर्दा आफूमाथि आक्रमणको प्रयास भएको उहाँले बताउनु भएको थियो ।

 

गत मङ्सिर २१ गते सम्पन्न भएको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सुनसरी क्षेत्र नं. ३ को मतगणना आजसम्पन्न भएको छ ।उहाँले तीन नं. क्षेत्रका जनताको हरेक सुःखदुःखमा आफू सदैव साथ रहने भन्दै यो क्षेत्रको विकास र सम्वृद्धिका लागि लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ । भने, आफूलाई व्यक्तिगत रूपमा पराजित गराइएपनि पार्टी र समग्र वाम गठबन्धनले हासिल गरेको अद्वितीय विजयले आफ्नो पराजयबाट रत्तिभर पनि निराशाबोध नवनाएको बताउनु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *