प्रहरीले डाक्टरमाथि हातपात गरेपछि इनरूवा अस्पतालमा तनाव

मङ्सिर १, सुनसरी । प्रहरीले डाक्टरमाथि हातपात गरेपछि इनरूवा अस्पतालमा तनाव उत्पन्न भएकाे छ । दुर्घटनामा घाइते भएका आफन्तको मृत्यु भएको विषयलाई लिएर प्रहरीले डाक्टरमाथि हातपात गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत नायब सुब्बा रामचन्द्र भट्टरार्इकाे सवारी दुर्घटनामा परि मृत्यु भएपछि इनरुवा अस्पताल ल्याइएकाे थियाे । अस्पतालमा कार्यरत डाक्टरले भट्टराईको अस्पताल ल्याउनु अघि नै मृत्यु भैसकेको जानकारी दिएपछि प्रहरीले डाक्टरमाथि आक्रमण गरेको बताइएको छ । मृतक भट्टराईका आफन्त पर्ने जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेलले डा तुसार झा, स्वास्थ्यकर्मी ओम गोहीबार यादवलगायत सात जना स्वास्थ्यकर्मी माथि गुण्डा शैलीमा आक्रमण गरेको बताइएका छ ।

                                                          फाेटाे : फाइल

प्रहरी निरीक्षक पोखरेलले बर्दी र बन्दुकको आडमा रक्सीमा मातेर आफूहरू माथि आक्रमण गरेको पीडित तुसार झाले बताए । अस्पतालको इमर्जेन्सी कक्षमा रहेका डा झा सहितका स्वास्थ्यकर्मी र एक जना कार्यालय सहयोगी समेतलाई बुट र लठीले कुटपीट गरेको झाले बताए ।

हिजो साँझ इनरुवाबाट आफ्नो घर दुहबीतर्फ जाँदै गरेको भट्टराई सवार बा २४ प ४२४४ नम्बरको मोटरसाइकललाई विराटनगरबाट इनरूवा तर्फ आउँदै गरेकाे १ च ७०३३ नम्बरकाे एम्बुलेन्सले ठक्कर दिँदा भट्टराईको घटनास्थलमै मृत्यु भएको थियाे । मृतक भट्टराई आफ्नो आफन्त रहेको र सिरानी नदिएको तथा उपचारसमेत नगरिदिएको आरोप लगाउँदै प्रहरी निरिक्षक पाेखरेलले डाक्टर माथि आक्रमण गरेको बताइएकाे छ ।

घटनालाई लिएर जिल्ला अस्पताल पूर्णरुपमा बन्दगरी स्वास्थ्यकर्मीहरु अस्पताल अगाडि र सडकमा धर्ना दिएर प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै प्रर्दशन गरिरहेका छन् । चिकित्सकमाथिको आक्रमण सह्य नहुने भन्दै इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, अस्पताल विकास समितिका अध्यक्ष रमेश कटुवाल, नेपाली काँग्रेका सचिव केदार भण्डारी लगायतले ऐक्बद्धता जनाउँदै चिकित्सको आन्दोलनमा सहभागी भएका छन् ।

चिकित्सकमाथिको आक्रमणको विरोधमा सुनसरीका सबै स्वास्थ्य संस्था साँझदेखि नै बन्द भएका छन् भने दोषीलाई कारबाहीको माग गर्दै इलाम, उदयपुर, धनकुटा, पोखरा, सप्तरीलगायतका क्षेत्रमा डाक्टरले सेवा अवरुद्ध गरेको स्वास्थ्यकर्मी राजीव मेहताले जानकारी दिए ।

जिल्लाको पाँच वटा प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकले घटना सुनेपछि राति ८ः३० बजे इनरुवा आइपुगेको र आन्दोलनमा सरिक भएको डा वसन्त यादवले जानकारी दिए । उता प्रहरी र प्रशासनले आफ्नो कमजोरी भएको भन्दै मिलाउने र वार्ता गर्ने तयारी गरिरहेको बुझिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =