कमला नदीमा डुबेर बेपत्ता ३ बालकमध्ये एकको शव भेटियो, वृद्धलाई बाढीले बगायो

लहान, भदौ १० । सिरहा र धनुषाको सीमामा पर्ने कमला नदीमा डुबेर हिजो साँझबाट बेपत्ता भएका सिरहाका तीन बालकमध्ये एक जनाको शव आज बिहान फेला परेको छ भने दुई जना अझै बेपत्ता छन् ।

सिरहाको गोलबजारस्थित शिव मन्दिरमा जल चढाउनका लागि जल लिन कमला नदीको उत्राइनी पुगेका गोलबजार नगरपालिका–४ निवासी १५ वर्षीय मञ्जय महरा, सोही ठाउँका १४ वर्षीय राहुल महरा र सिरहाकै औरही गाउँपालिका तुलसीपुर निवासी १४ वर्षीय कृष्ण महतो बेपत्ता भएका थिए ।

बालकहरु बेपत्ता भएको सूचना पाए लगत्तै पुगेको प्रहरी टोलीले आज बिहान बेपत्ता भएका मध्ये कृष्ण महतोको शव फेला पारेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक दिपेन्द्र साहले जानकारी दिए ।

चार जनाको समूहमा कमला नदी जल भर्न पुगेका मध्ये एक जना बालकलाई स्थानीय बासिन्दाले तत्कालै उद्धार गरे पनि बाँकी तीन जना कमला नदीमा डुबेर बेपत्ता भएका थिए । पहाडी क्षेत्रमा वर्षा भएकाले कमला खोलामा दुई दिनदेखि पानीको बहाव बढेकाले खोजी उद्धारमा समस्या भए पनि खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक साहले बताए ।

वृद्धलाई बाढीले बगायो

यस्तै सप्तरीको खडग खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका एक वृद्धको शव शनिबार फेला परेको छ ।

खडक नगरपालिकास्थित कल्याणपुर बजारमा हाट बजार गरी गत शुक्रवार घरतर्फ फर्कने क्रममा बाढीले बगाएर बेपत्ता भएका सप्तरीको खडग नगरपालिका–७ निवासी ६० वर्षीय पुष्पलाल तामाङको शव फेला परेको प्रहरीले जनाएको छ ।

खोलाले बगाएको स्थानबाट करीव ४ किलो मिटरको दूरीमा तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता भवेश रिमालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =