बन्ला त भरतपुर स्मार्ट सिटी !

किशोर खनाल, भरतपुर । स्थानीय चुनावको बेला स्मार्ट सिटीको खुब चर्चा थियो । मतगणनाको बेला यो चर्चा अलि सेलायो । यति बेला स्मार्ट सिटीको चर्चा फेरि बल्केको छ । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल र उपमेयर पार्वती शाहले बधाई तथा सम्मान कार्यक्रमहरूमा भरतपुर महानगरलाई स्मार्ट सिटी बनाउने प्रतिबद्धता गरेपछि यसको चर्चा यति बेला फेरि तातेको छ । चिया पसलदेखि बजारका चोकचोकमा यति बेला स्मार्ट सिटी सपना कि सम्भावना ! भन्ने विषयले बहस छेडेको छ ।

स्थानीय चुनावको समयमा नेकपा माओवादी केन्द्रले आफ्नो घोषणापत्रमा भरतपुरलाई स्मार्ट सिटी बनाउने भन्ने विषयलाई प्रमुख प्राथमिकता दिएको थियो । यही घोषणापत्रमा उल्लेख भएर होला, विभिन्न सम्मानित कार्यक्रमहरूमा पुग्दा मेयर दाहाल र उपमेयर शाहले भरतपुरलाई स्मार्ट सिटी बनाउन आफू हरतरहले लागिपर्ने बताउँदै आएका छन् ।

तीव्र रूपमा विकास भइरहेको भरतपुर उपमहानगरपालिका भएको ३ वर्ष पूरा नहुँदै महानगरपालिका भएको हो । शैक्षिक हब र मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुर बन्ला त स्मार्ट सिटी ! स्मार्ट सिटीको सम्भावनासँगसगै धेरै चुनौतीहरू पनि रहेको विज्ञहरु बताउँछन् । चुनौती पार गर्न नसके भरतपुर स्मार्ट सिटी सपनामात्र हुने विज्ञहरुको भनाइ छ । आवश्यक पर्ने जुनसुकै विषय पनि अत्याधुनिक प्रविधिबाट सम्पन्न हुन सक्ने सहरलाई स्मार्ट सिटी भनिन्छ ।

‘पहिला ठूलठूला कुरा भन्दा पनि नगरवासीसँग प्रत्यक्ष जोडिएका ससाना समस्याहरू (सडक, ढल, खानेपानी, सरसफाइ) समाधान गर्नुपर्छ’ तत्कालीन चितवन उपत्यका रणनीतिक गुरूयोजना संयोजक विजय सुवेदीले भने, ‘भरतपुरलाई स्मार्ट सिटी बनाउन सकिने सम्भावना छ, तर अव्यवस्थित तरिकाले कुनै गुरूयोजना नबनाइ, कुन क्षेत्र केका लागि हो, कुनै निर्धारण नगरी काम गरियो भने बजार बिग्रन्छ । अनि त्यति बेला स्मार्ट सिटी सपनामात्र हुनेछ ।’

संयोजक सुवेदीले महानगरमा औद्योगिक, पर्यटक, हस्पिटल, होटललगायतको क्षेत्र निर्धारण गरेर विकास गरेमा स्मार्ट सिटीको सम्भावना बढ्ने बताए । उनले महानगरपालिकाले सबैको मन जितेर राजनीति दलको सहमतिमा एउटा गुरुयोजना बनाएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘व्यवस्थित र प्रविधियुक्त सहर नै स्मार्ट सिटी हो । यसको लागि महानगरपालिकाले आर्थिक स्रोतको परिचालन, लगानी सुरक्षित हुने वातावरण, बन्द र हड्तालहरुको निराकरण, हरेक काममा प्रविधिको प्रयोग, सुविधायुक्त सुरक्षित स्थल बनाउन जरुरी छ ।’ जनताका ससाना समस्याहरू हल नगरी स्मार्ट सिटीको परिकल्पना गरियो भने सपनामात्र हुन्छ, तर ससाना समस्या हल गर्दै स्पष्ट भिजन लिएर अघि बढेमा भरतपुर स्मार्ट सिटीको सम्भावना हुन्छ ।’

२०३५ सालमा नगरपञ्चायतसँगै २०४८ सालमा भरतपुर नगरपालिका बनेको हो । ०७१ मा उपमहानगरपालिका बनेको तीन वर्ष नपुग्दै ०७३ मा महानगरपालिका भएको छ । ‘महानगरपालिका भएको पनि सम्भावनाले हो, देशको मध्येभागमा रहेको भरतपुर स्मार्ट सिटी बन्ने सम्भावना पनि छ’ संयोजक सुवेदीले भने, ‘यसको लागि राजनीति दलको सहमतिमा एउटा गुरुयोजना कोरेर हातेमालो गरेर अघि बढ्नुपर्छ ।’

दुई ठुला मेडिकल कलेज, करिब एक दर्जन नर्सिङ कलेजहरु भरतपुरमै छन् । शैक्षिक हब बन्दै गएको भरतपुरमा पीएचडीसम्मको पढाइ हुन्छ । महानगरभित्रै कृषि विश्वविद्यालय छ । बिजुली, बैङ्क, सुपर मार्केट, ठुला होटेल तथा बसपार्कको समस्या छैन । मेडिकल सिटीको रूपमा चिनिएको भरतपुरमा क्यान्सर अस्पताल र भरतपुर अस्पतालले स्मार्ट सिटीको ढोका खोल्न सहयोग पु¥याउँछन् । दुई दर्जनभन्दा बढी ठुला निजी अस्पतालहरू छन् ।
‘भरतपुर महानगरभित्र धेरै कुरा भएकाले यहाँ स्मार्ट सिटीको बलियो सम्भावना छ’ भरतपुर महानगरपालिकाका कार्यकारी अधिकृत प्रेमराज जोशीले भने । उनले भरतपुरलाई स्मार्ट सिटी बनाउने हो भने सबैभन्दा पहिला हरियाली र सफा सहर बनाउनपर्ने बताए ।

उनले भने, ‘फोहोर व्यवस्थापन, भित्रभित्र कालोपत्रे फराकिला सडक, रातीमा पनि उज्यालो सडक, सुरक्षित गन्तव्य र हरेक काममा प्रविधिको प्रयोग हुन सके भरतपुरलाई स्मार्ट सिटीको रूपमा विकास गर्न सकिन्छ । उनको भनाइअनुसार योजनाबद्ध ढङ्गले विकासका कामहरू अघि बढाउन सके तीन वर्षभित्र भरतपुरलाई स्मार्ट सिटी बनाउन सकिन्छ । जनता, सरकार, अर्थतन्त्र, आवागमन, वातावरण र जीवनस्तरलाई स्मार्ट बनाए सिङ्गो सहर स्मार्ट बन्ने मान्यता रहको कार्यकारी अधिकृत जोशीको भनाइ थियो ।

स्मार्ट सिटीमा निजीलाई भन्दा पनि सार्वजनिकलाई बढी प्राथमिकता दिइन्छ र सूचना प्रविधिको व्यापक प्रयोग गरिएको हुन्छ । स्मार्ट सिटीमा टेली उपचारको प्रयोग व्यापक हुन्छ । चिकित्सकलाई देखाउन लाइनमा घन्टौं बस्नुपर्दैन, घरमै आउँछन् चिकित्सक । अपराधीको पहिचान गर्न ‘फेस आइडेन्टिफिकेसन सिस्टम’ हुनेछ । संदिग्धको फोटो र डीएनए कम्प्युटरमा राखेलगत्तै उनको विगत र अपराधका बारेमा तुरुन्त जानकारी लिन सकिनेछ । पार्किङका लागि मानिसहरूले कुनचाहि पार्किङ स्थलमा ठाउँ छ भन्ने जानकारी गाडीमै पाउँछन् ।

सरकारले बुद्ध जन्मस्थल लुम्बिनीलाई ‘स्मार्ट सिटी’ को रूपमा विकास गर्न काम अघि बढाएको छ । शहरी विकास मन्त्रालयअन्तर्गत नयाँ सहर आयोजनाले लुम्बिनीसहित निजगढ र पालुङ्टारलाई स्मार्ट सिटीको रूपमा विकास गर्न परामर्शदाता छनोटका लागि सूचना जारी गरेको छ । तर भरतपुरलाई यस्तो सूचना आइसकेको छैन ।

स्मार्ट सिटीमा के के हुनुपर्छ ?

– ठूलठूला भौतिक संरचना
– अटोमेटिक सेन्सर र डाटा सेन्टर
– अत्याधुनिक सञ्चार र बजार
– अटोमेटिक ट्राफिक व्यवस्थापन
– कुनाकुनामा सिसी क्यामेरा
– कन्ट्रोल कोठाबाट सहरको निगरानी
– बटन थिचेपछि दुर्घटना घाइतेको उद्धार
– हरेक काम कम्प्युटर सिस्टम
– हरेक समय उज्यालो सडक
– शुद्ध पानी, पार्क र हरियाली
– फेस आइडेन्टिफिकेसन सिस्टम
– बिरामीको घरमै विशेषज्ञबाट उपचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =