नअत्तालिनुस् ! बढेको छैन सवारी कर


१६ जेठ, काठमाडौँ । सामाजिक सञ्जालमा सरकारले सवारी कर ८० प्रतिशत वृद्धि गरेको भन्ने समाचार संम्प्रेषण भएपछि अर्थ मन्त्रालयले यो वर्ष कुनै प्रकारको सवारी कर नबढाएको स्पष्ट गरेको छ । आर्थिक विधयेक (बजेट) मार्फत कुनै सवारी करवृद्धिको घोषणा नभएको र गत वर्षकै कायम राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।
गतवर्ष जस्तै यो वर्ष पनि १२५ सीसी सम्मको मोटरसाइकललाई वार्षिक २५ सय र १२६ देखि २५० सीसीसम्मको मोटरसाइकललाई ४ हजार रुपैयाँ कर लाग्नेछ ।
२५१ देखि ४०० सम्म सीसीका मोटरसाइकल धनीसँग वार्षिक ८ हजार रुपैयाँ कर लगाउनेछ । ४ सय सीसीभन्दा माथिका मोटरसाइकलको वार्षिक सवारी कर १५ हजार रुपैयाँ कायम नै छ ।
गाडीतर्फ १ हजार सीसीसम्मका कार तथा जीपले १९ हजार रुपैयाँ कर तिर्नुपर्नेछ । यसै गरी १००१ देखि १५०० सीसीसम्मका कारधनीहरुले २१ हजार, १५०१ देखि २००० सीसीसम्मका कार र जीपले २३ हजार रुपैयाँ कर तिर्नुपर्छ । यो कर विगतकै वर्षको हो ।
२००१ देखि २५ सयसम्मका कारका लागि ३२ हजार रुपैयाँ कर कायम राखिएको छ । २५ सयभन्दा माथि र २९ सय सीसीभन्दा मुनिका साना सवारीले ३७ हजार रुपैयाँ कर तिर्नुपर्छ । २९००१ सीसीभन्दा माथिका कारहरुलाई वाषिर्क ५३ हजार रुपैयाँ कर तिराइनेछ ।








