धर्मराएकै हाे त जिदानकाे भविश्य ? (भिडियाे सहित)

एजेन्सी । सन् १९९८ का विश्वकप विजेता टोलीका मुख्य खेलाडी अहिले स्पेनमा समस्यामा छन् । १९९८ मा आयोजक समेत रहेको फ्रान्सले विश्वकप फुटबलको उपाधि जित्दा मुख्य खेलाडी रहेका जिनेदिन जिदान आफ्नै पूर्व क्लबमा प्रमुख प्रशिक्षक रहेका छन् ।

स्पेनीस ला लिगामा रियल म्याड्रिडको लगातारको हार जिदानलाई टाउको दुखाई भएको छ । ला लिगको आधा खेल सकिन लाग्दा चिरप्रतिद्वन्द्वीसँग फराकीलो अन्तरले पछि पर्दा जिदानको प्रशिक्षक करियर पनि धर्मराउन थालेको छ ।

गएराती म्याड्रिडको घरेलु मैदानमा भिल्लेरियालसँग पराजित भएपछि जिदानको टोली ला लिगको तालिकामा झन् पछि परेको छ भने फ्रेन्च प्रशिक्षकको जागिर पनि धरापमा परेको छ । हिजोको खेलमा रियल भिल्लारियलसँग ०–१ ले स्तब्ध भएको हो ।

हिजोको खेलअघि सन् २०१७–१८ मा रियालले घरेलु मैदानमा भ्यालेन्सिया, लेभान्ते, बेटिस, टोटनहम, फुयेनलाब्राडा, बार्सिलोना र नुमान्सियालाई पराजित गर्न असफल भएको थियो । र, अहिले रियाललाई बार्सिलोना र बेटिसपछि रियाललाई उसैको घरेलु मैदानमा पराजित गर्ने भिल्लेरियाल तेस्रो टोली बनेको छ ।

हेर्नुहाेस् हार्इलाइटस्

स्पेनिस र युरोपिन च्याम्पियनले सन् २०१७ मा क्लबको किर्तिमानी पाँच वटा उपाधि जितेको थियो । सिजनको सुरुवातमा बार्सिलोनालाई एक पक्षीय क्लासिकोमा हराउँदा रियालले यस्तो सङ्कट बेहोर्ने छ भन्ने कसैले अनुमान गरेका थिएनन् ।

आइतबार (आज) बार्सिलोनाले रियल सोसिडाडलाई पराजित गरे ला लिगको आधा खेल सकिँदा रियल (एक खेल कम खेल्दा) बार्सिलोनाभन्दा १९ अङ्कले पछि पर्नेछ । यतिमात्र होइन रियल शीर्ष चारमा पर्ने सुनिश्चितता पनि छैन । पाँचौँ स्थानमा रहेको भिल्लेरियाल रियालभन्दा मात्र एक अङ्कले तल छ ।

गत सिजन लगातार दुई पटक च्याम्पियन्स लिग जितेको रियालले यो सिजन सबैमाथि वर्चस्व जमाउने अनुमान गरिएको थियो । त्यसमाथि गत सिजन जिदानको नेतृत्वमा सन् २०११–१२ पछि पहिलो पटक ला लागि जितेको रियालका लागि यो नयाँ सुरुवात हुने आशा गरिएको थियो । तर, अहिले लाग्दै छ यो अन्त्यको सुरुवात बन्दै छ ।

भिल्लेरियालसँगको खेलमा टोलीको कमजोरी प्रस्ट रूपमा देखिएको थियो । रियालको खेल पूर्वानुमेय थियो । लुका मोड्रिच, टोनी क्रुस र इस्कोजस्ता खेलाडी भएको जिदानको टोली आशातित रूपमा रचनात्मक थिएन ।

फ्रेन्च प्रशिक्षक उत्कृष्ट उत्प्रेरक र मास्टर ‘म्यान म्यानेजर’ हुन् । तर, उनी रणनीतिक रूपमा त्यति सशक्त छैनन् । उनको सफल कार्यकालमा उनी खेलाडीहरूको उत्कृष्ट प्रदर्शनमा निर्भर थिए ।

तर, यो सिजन उनको चर्चित फरवार्ड लाइन कि त घाइते रह्यो कि फर्मभन्दा बाहिर रह्यो । ला लिगमा गोलको खडेरी नै लागेको छ । हिजोको खेलअघिसम्म ला लिगमा रियालका कुनै पनि खेलाडीले चारभन्दा धेरै गोल गर्न सकेका थिएनन् । रियालको इतिहासमा कहिले पनि यस्तो भएको थिएन र हिजोको खेल पछि त्यो केही बदलिएन । रियालले शनिवारको खेलमा यस सिजन कुनै पनि टोलीले गरेको भन्दा धेरै २८ पटक विपक्षीको पोस्टमा आक्रमण गरेको थियो, तर नतिजा शून्य रह्यो ।

यसमध्ये क्रिस्टियानो रोनाल्डोले एक्लै ११ पटक विपक्षीको पोस्टमा आक्रमण गरेका थिए । तर, धेरै पोस्टभन्दा बाहिर गएको थियो भने एउटा भिल्लेरियालका गोलकिपर सर्जियो असेन्जोले उत्कृष्ट बचाउ गरेका थिए । ३२ वर्षीय खेलाडीको खराब खेलमध्ये एक थियो हिजोको खेल । अन्त्यमा फाब्लो फोर्नालको गोलबाट उनीसँगै टोली स्तब्ध बन्न पुग्यो ।

यस्तो खेल प्रदर्शन गर्ने हो भने रियालसँग खेल्न कुनै पनि टोली डराउने छैन । च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेनको सामना गर्न लस ब्लाङ्कोसले केही परिवर्तन गर्न जरुरी छ ।

ला लिगको आशा समाप्त भइसकेको अवस्थामा रियालले अब युरोप र खोपा डेल रेमा आफ्नो ध्यान केन्द्रित गर्न जरुरी छ । फरवार्डले धोका दिइरहेको अवस्था जिदानले नयाँ रणनीतिक योजना ल्याउन जरुरी छ ताकि रियाललाई फेरि प्रतिस्पर्धात्मक बनाउन सकियोस् ।

रियाललाई आफ्नो नेतृत्वमा २०१७ मा पाँचौँ उपाधि, समग्रमा सातौँ उपाधि, दिलाएको एक महिनामा नै जिदानले आफ्नो जागिर जोगाउन ठुलै सङ्घर्ष गर्नुपर्ने देखिन्छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nine =