बाढी पीडितलाई राजनीतिक दलले बाँडे आस्वासनका पोका

भाद्र १८, सप्तरी । स्थानीय खाँडो खोलाबाट आएको भेलले भर्खरै लगाएको धानसँगै घरका भकारीमा थुपारेका अन्नपात, आङ्मा लगाउने लुगा कपडा समेत सोत्तर पारेपछि सप्तरी तिलाठी गाउँपालिका पिडितहरु सडकमा रात बिताउन बाध्य भएका छन् । गत साउन २५–२८ को अविरल वर्षाले वितण्डा मच्चाएको सप्तरी, तीलाठी–कोइलाडी गाउँ पालिका वडा नं. ४ कोइलाडीका बासिन्दाको मनबाट बाढीको त्रास मेटिएपनि आङ्मा एक सरो लुगा बाहेक केही नहुँदा गुजारा कसरी चलाउने भन्नेमा पिर परेको छ ।

यही मेसोमा तेस्रो चरणको निर्वाचनमा दलहरू होमिँदा अधिकांश दलहरूले बाढी पीडित परिवारलाई पुर्नस्थापित गर्ने फोस्रा आश्वासन बाड्न थालेका छन् । भाद्र २ गते काठमाडौँबाट राहत लिएर गएको मकालु खबर डटकमको टोलीसँग सप्तरी, तीलाठी गाउँ पालिका वडा नं. ४ कोइलाडीका रामदेव खङ्ले सरकारले बाढी पीडितका लागि दैनि ७० रुपैंया खाना खर्च दिने भनेपनि नपुगेको भन्दै दुखेसो पोखे । ‘खै सर्कारले पैसा दिन्छ भनेको हाम्रोमा आएकै छैन । आफू त जसोतसो गरिएला बालबच्चाको विजोक भो ।’ अध्यारो मुख लाउँदै भत्किएको घरतिर हेर्दै उनले भने ।

सप्तरीको पिछडिएको र दलितबस्ती भएकै कारण यो ठाउँमा सरकारको उपस्थिति न्यून छ । गत भाद्र पहिलो हप्ता राजधानीबाट खाद्यान्न सहित लत्ता कपडा लिएर गएको मकालु खबर डटकमको टोलीले राहत वितरण गरिरहँदा तिलाठी–४ कोईलाडीका जनताहरू भत्किएको घर हेर्दै न्याउरो मुख लगाइरहेका थिए । उनले केही पार्टीका स्थानीय नेताहरूले चुनावमा भोट हालेपनि सहयोग गर्ने आश्वासन दिएको समेत बताए ।

कोईलाडीमा लगातार परेको वर्षा र त्यसपछि स्थानीय खोलामा आएको भेलले यो क्षेत्रका करिब पाँच सय घर परिवारलाई विस्तापित मात्र पारेन । घरमा पालेका चौपायासँगै अन्नपात पनि सोत्तर पार्दा उनीहरू विचल्लीमा परेका छन् । सरकारले उद्धार तथा राहत वितरणका लागि यो क्षेत्रलाई प्राथमिकतामा राखेन । नेपाली सेना तथा सशस्त्र प्रहरीको उद्धार टोली समेत ढिलो आइपुग्दा बाढीको कहरमा धेरैको श्री सम्पत्ति सकियो । गाउँका अधिकांशका घर भत्किएका छन् ।

बाढीको भेलबाट जोगिएर बाँचेकाहरुको आङ्मा एकसरो लुगा बाहेक केही छैन । ‘गोठमा बाँधेको भैसी, बाख्रा र सुङ्गुरहरु त्यहीँ मरे । कसैलाई निकाल्न सकिएन ।’ शिवरारायण खङ्ले राहत लिँदै गर्दा सुनाए । उनले स्थानीय राजनीतिक दलहरूले सरकारले राहत तथा बाढी पीडितलाई दैनिक खाना खर्च दिने आश्वासन दिएपनि लगत सङ्कलन राम्ररी नगर्दा समस्या भएको जिकिर गरे । ‘सरकारले दिनको ७० रुपैंया दिने भन्यो । यहाँका नेताहरूले घरपरिवारको लगत हचुवा पाराले सङ्कलन गरे, अहिले समस्या भएको छ ।’ उनले भने ।

स्थानीय युवा माधव कुँवरले सरकारले दिएको राहत बाढी पीडितलाई कम भएको बताए । उनले केही स्थानीय दल र काठमाडौँबाट आएका सहयोगले बाढी पीडितलाई केही राहत भए पनि उनीहरूमा खाद्यान्न र लत्ता कपडामा समस्या भएको बताए । ‘अहिले पानी रोकिएपछि धेरै परिवार घर तर्फ फर्कन थालेका छन् । ९० प्रतिशत भन्दा बढीको घर, अन्न, चौपाया नष्ट भएको छ । उनीहरूलाई तत्काल पुर्नस्थापनाका लागि सरकारले विशेष ध्यान दिनुपर्छ ।’ उनले भने ।–‘सरकारले दिने सत्तरी रुपैंयाले दुई छाक खाना आफैँ खुवाओस् हामीलाई पैसा चाहिँदैन ।’ उनले भने ।

एक स्थानीय राजनीतिक कार्यकर्ताले स्थानीय दहरुलाई चुनाव लागेकाले पनि राहत र उद्धारमा समस्या भएको बताए । उनले एक साता यता सप्तरीमा स्थानीय देखि राष्ट्रिय राजनीतिका ठुला पार्टीहरूले केही राहत अभियान लिएर आएपनि आश्वासन धेरै दिएको जिकिर गरे । ‘बाढी आउँदा नेताहरू आएनन्, चुनाव आएपछि नमस्कार गर्दैछन् ।’ स्थानीय रामेश्वर पासवानले बताए ।

मकालु खबर डटकम (शुलभ मिडिया प्रा.लि.) को संयोजनमा भएको राहत सङ्कलन तथा वितरण कार्यक्रमबाट करिब सात लाख बराबरको राहत वितरण गरिएको थियो । राजधानीबाट गत भाद्र २ गते गएको टोेलीले सप्तरीको तिलाठी–कोइलाडी ४ का साढे तीनसय बढी घर परिवारलाई राहत वितरण गरेको मकालु खबर डटकमका अध्यक्ष फिलिप डिसीले बताए । उनले उक्त क्षेत्रमा अझैपनि खाद्यान्न तथा औषधोपचारको सहयोग आवश्यक्ता रहेको बताए । ‘हामीले काठमाडौँबाट जति राहत ल्याएका थियौँ, त्यसले त्यहाँका परिवारलाई दुई चार दिनभन्दा धान्न सक्ने अवस्था छैन ।’ उनले भने । अध्यक्ष डिसीले अहिले उक्त क्षेत्रमा बाढीमा परेर मरेका चौपायाहरुका कारण गाउँमा दुर्घन्ध फैलिन थालेको र विभिन्न महामारी देखिनसक्ने भन्दै सरकारले तत्काल स्वास्थ्य टोली परिचालन गर्नुपर्ने बताए ।

टोलीले उक्त क्षेत्रमा खाद्यान्न, लत्ता कपडा, भाँडाकुुँडाहरु वितरण गरेको थियो । विभिन्न ११ ओटा संस्थाहरुसँगको समन्वयमा उक्त राहत सङ्कलन गरिएको थियो । तिलाठी–कोइलाडी गाउँपालिकाको तिलाठीसहित रम्पुरा मल्हनियाँ, कोइलाडी बर्साइन, लौनियाँ, हनुमाननगर कंकालिनी नगरपालिकाको इनर्वा, हनुमाननगर, मधवापुर, पोर्ताहा, भारदह क्षेत्र बाढीको चपेटामा परेका थिए । यी स्थानहरुमा अझैपनि कतिपय परिवार त्रिपालमा बसिरहेका छन् ।

सप्तरी स्थित तिलाठी गाउँपालिकामा अधिकांश दलित बस्तीहरु रहेको छ । राजमार्गबाट करिब २० किलोमिटर दक्षिणपूर्वमा रहेको यो गाविसमा करिब पन्ध्र सय घर डुवानमा परेका थिए । यस वर्षको बाढीका कारण सप्तरीमा मात्रै तीस हजार घर डुवानमा परेका थिए ।

फोटोः मकालु खबर

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 5 =