सरकारले शान्ति प्रकृया बिथोल्न खोज्यो : माओवादी

कार्तिक १४, काठमाडौं । नेकपा माओवादी केन्द्रले बालकृष्ण ढुंगेल पक्राउ प्रकरणलाई सामान्य रुपमा लिन नसक्ने जनाएको छ । सर्वाेच्च अदालतबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेपछि प्रतिकृया दिंदै माओवादी नेता डाचाराम वाग्लेले सरकारले निर्वाचन र शान्ति प्रकृया भाँड्न उनलाई पक्राउ गरेको बताए ।

‘निर्वाचनको मुखैमा आएर वहाँलाई पक्राउ गरिएको छ ।’ वाग्लेले भने, ‘यो निर्वाचन भाँड्न गरिएको षडयन्त्र हो । माओवादीलाई उत्तेजित बनाएर शान्ति प्रकृया बिथोल्न सरकारले यो घटना गराएको हो ।’ वाग्लेले द्धन्द्धकालिन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट समाधान हुनुपर्ने दोहोर्याए ।

ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले ढुंगेललाई पक्राउ गरेको थियो । प्रहरी प्रवक्ता मनोज न्यौपानेले ढुंगेल पक्राउ परेको पुष्टि गर्दै उनलाई अदालतको फैसला कार्यान्वयनका लागि पेश गरिएको बताए ।

उनको दुबै मृगौला खराव भएकाले उपचाररत रहेको र नियमित औषधि सेवन गरिरहेका आफन्तले जनाएका छन् ।

२०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले उज्जन श्रेष्ठको हत्यामा ढुंगेललाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =