प्रशिक्षक कुम्बले र कप्तान कोहलीबीच विवाद बढ्दा राजिनामा

एजेन्सी – भारतीय राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक अनिल कुम्बलेले कप्तान विराट कोहलीसँग असमझदारी बढ्दै गएपछि राजिनामा दिएका छन्। भर्खरै सम्पन्न आइसीसी च्याम्पियन्स ट्रफीको फाइनलमा पाकिस्तैनसँग लज्जासप्द हार व्यहोर्नुलाई पनि एक कारणको रुपमा हेरिएको छ ।

कुम्बले र कोहली बीच लामो समयदेखि मतभिन्नता रहँदै आएको भनिएपनि दुवैले त्यसको खण्डन गर्दै आएका थिए । तर, कुम्बलेले आफ्नो राजिनामा दिंदै सबै बिर्सेर अगाडी बढ्नु उत्तम निर्णय हुने बताए। कोहलीले कुम्बलेको प्रशिक्षणमा केहि कमजोरी रहेको बताउँदै आएका थिए । त्यसै अनुरुप भारतीय क्रिकेट बोर्डले मे महिनामा नयाँ प्रशिक्षकको लागि खुला आवेदन दिएको थियो।
कुम्बलेको प्रशिक्षण कालमा भारतले खेलेको १७ टेष्ट मध्ये १२ जित, ४ बराबरी र १ हार व्यहोरेको थियो । उनले भारतलाई २ एकदिवसीय श्रृंखलामा पनि जित दिलाएका थिए । इङ्ग्ल्याण्ड र न्युजिल्याण्डसँगको श्रृंखला सहजै भारतले जितेको थियो । भारतले आगामी शुक्रबारदेखि वेष्ट इन्डिजको सामना गर्दैछ।








