सुशील कोइरालालाई राष्ट्रपति बनाउन एमालेले नमान्दा राजनीतिक अस्थिरता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेले सुशील कोइरालालाई राष्ट्रपति बनाउन नमान्दा राजनीतिक अस्थिरता लम्बिएको बताउनु भएको छ । पटक पटक नयाँ सरकार गठन हुने गरेको विषय तर्फ लक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले मंगलबार व्यवस्थापिका संसद्मा सम्बोधन गर्दै भन्नुभयो, ‘तत्कालिन कांग्रेसका सभापति सुशील कोइरालालाई राष्ट्रपति, एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री बन्नुहोस्, हामी सहकार्य गरेर राष्ट्रिय सरकार गठन गरेर अगाडि बढ्न तयार छौँ, भनेको थिए तर एमाले नै नमानेको हो ।’

एमालेकै हठका कारण राष्ट्रिय सहमतिको सरकार गठन हुन नसक्दा राजनीतिक अस्थिरता कायमै भएको र सरकार परिवर्तनको शृङ्खला दोहोरिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । प्रचण्डले एमालेले संघीयता, समानुपातिकता, समावेशिता जस्ता विषय सुन्नै नचाँहदा संविधान संशोधन लगायतका विषयमा सहमति जुट्न नसकेको समेत बताउनु भयो ।
‘एमालेको नेतृत्व संघीयता, समानुपातिकता, समावेशिता जस्ता कुरालाई अझै स्वीकार गर्न सकेको छैन, उसले संघीयतालाई स्वीकार गर्न अझै सम्म नसक्दा हामी अझै राष्ट्रिय सहमतिका साथ अघि बढ्न सकेका छैनौँ।’ प्रधानमन्त्री प्रचण्डले देउवाको दबाबका कारण आफूले राजीनामा नदिएको समेत प्रष्ट पार्नु भयो । ‘मेरो राजीनामा कांग्रेस अथवा कांग्रेस सभापति शेरबहादुर देउवाको दबाबमा आएको होइन सहमति अनुसार नै मेरो राजीनामा आएको हो ।’
प्रचण्डले आफूले पहिलो चरणको निर्वाचन सम्पन्न भएपछि कांग्रेस सभापति देउवालाई बालुवाटार बोलाएर राजीनामा दिएको स्वीकार गर्नु भएको छ। ‘बालुवाटारमा शेरबहादुर देउवाजीसँगको छलफलमा पहिलो चरणको निर्वाचन सकेर राजीनामा दिन्छु भनेको थिएँ। जब पहिलो चरणको निर्वाचन व्यापकता पूर्वक सम्पन्न भयो, मैले नैतिक रुपमा राजीनामा दिएको हुँ ।’








