समानुपातिक मतगणनामा पनि एमालेकै अग्रता, यस्तो छ नतिजा

मङ्सिर २६, काठमाडौं । प्रतिनिधि सभा समानुपातिक मतमा एमालेले करिब ८० हजारभन्दा बढी मतको अग्रता लिएको छ । ३१ लाख १० हजार १९४ मत गणना हुँदासम्म प्रमुख ४ दलले मात्रै ३ प्रतिशत थ्रेसहोल्ड क्रस गरेका छन् ।
एमालेले ११ लाख ४६ हजार ६८३ मत ल्याएको छ भने कांग्रेसले १० लाख ६५ हजार ४७६ मत ल्याएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले ४ लाख हजार ६३ हजार ९५ मत ल्याएको छ । त्यसैगरी चौथो स्थानमा रहेको संघीय समाजवादी फोरमले ८२ हजार ४०९, पाँचौं स्थानमा रहेको विवेकशील साझा पार्टीले ६५ हजार ८२९ मत ल्याएको छ ।
यता राष्ट्रिय प्रजातन्त्र पार्टीले ६० हजार ८० मत ल्याएको छ। त्यस्तै नयाँ शक्तिले ३५ हजार ६४९, ६ हजार ५७८ राष्ट्रिय जनमोर्चाले २६ हजार ६३९ मत ल्याएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) २३ हजार ८०४ मत प्राप्त गरेको छ । त्यस्तै अन्य दलले ८७ हजार १७७ मत ल्याएका छन् ।
निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार एमाले, कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमले मात्रै थ्रेसहोल्ड क्रस गरेका हुन् । प्रत्यक्षतर्फको मतगणना सकिएका क्षेत्रमा समानुपातिकको मतगणना भइरहेको छ । तर, २ नम्बर प्रदेशको कम मत गणना भएकाले सो प्रदेशमा पहिलो दल बनेको राजपाले पनि ३ प्रतिशत क्रस गर्ने सम्भावना देखिन्छ । अन्य, राप्रपा, विवेकशील, नयाँ शक्ति लगायतका पार्टीले ३ प्रतिशत पुर्याउन सक्ने सम्भावना बाँकी नै छ ।








