बसन्तचोकमा ज्ञानमहायज्ञको तयारी पूरा

कार्तिक २७, भरतपुर । धर्मशाला निर्माणको लागि भरतपुर–९ बसन्तचोक गोन्द्राङमा गर्न लागिएको श्रीमद् भागवत महापुराण तथा धनधान्याञ्चल ज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।
श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी सत्संग समितिले विभिन्न धार्मिक संघसंस्थाको सहयोगमा गर्न लागिएको ज्ञान महायज्ञको तयारी पूरा भएको समितिका सल्लाहकार श्यामजी अतिथिले जानकारी दिए । ज्ञान महायज्ञ मङ्सिर १ गतेदेखि ७ गतेसम्म बसन्तचोकमा हुनेछ । मङ्सिर १ गते पहिलो दिन बिहान १० बजे शोभायात्राको कार्यक्रम राखिएको र दिउँसो १ बजे उद्घाटन कार्यक्रम हुने अतिथिले बताए ।

अन्नदान, तुलादान, भूमिदान गर्न इच्छुक हुनेहरुलाई यज्ञ मण्डपमै सम्पूर्ण व्यवस्था मिलाइएको छ । दुई कठ्ठासम्म भूमि दान गर्ने दाताको नामबाट धर्मशालाको नामाकरण गर्ने यज्ञ आयोजक मूल समितिले जनाएको छ ।
भारत सिक्किम निवासी भागवतचार्य रोहितराजजी महाराजबाट भागवत कथा वाचन हुने मूल समितिको भनाइ छ । महायज्ञबाट संकलित रकमले भरतपुर महानगरपालिकामा उपचार गर्न आउने बिरामी तथा बिरामी कुरुवाहरुलाई आश्रय दिनको लागि धर्मशाला निर्माण गरिने बताइएको छ ।








