राष्ट्रिय सोनाम ल्होछार २८५४ फागुन ४ गते मनाउने

माघ १२, काठमाडाैं । नेपाल तामाङ घेदुङले सोनाम ल्होछार भब्यताका साथ मनाउने भएको छ । घेदुङले आउँदो फागुन ४ गते परेको राष्ट्रिय सोनाम ल्होछार २८५४ लार्इ भब्यताका साथ मनाउने तयारी गरेको छ । त्यसका लागि नेपाल तामाङ घेदुङको संयोजकत्वमा ‘राष्ट्रिय सोनाम ल्होछार मूल समारोह समिति’ नै गठन गरिएको छ ।

मूल समारोह समितिले विभिन्न उपसमितिहरु गठन गरि विविध तयारी गरेको मूल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिए ।

सोनाम ल्होछारको अवसरमा विविध झाँकीसहितको र्‍याली, प्रधानमन्त्रीको प्रमुख आतिथ्यमा मूल समारोह गर्ने तयारीका साथै तामाङ मौलिक भेषभुषा, खानालगायतको प्रदर्शनी गरिने भएको छ । र चर्चित तामाङ कलाकारहरुको प्रस्तुतिसहितको साँस्कृतिक कार्यक्रमको तयारी भएको संयोजक गोलेले बताए । सोनाम ल्होछारलार्इ सफल बनाउन तामाङ घेदुङ प्रचार विभाग प्रमुख जगत दोङको संयोजकत्वमा प्रचारप्रसार र संस्कृति घेदुङको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति बनाइएको छ ।

ल्होछार मुल समारोह समितिले ‘सोनाम ल्होछारको प्रवर्द्धन, हाम्रो सांस्कृतिक अभियान, ताम्सालिङ प्रदेशको स्थापना राष्ट्रको साझा पहिचान’ भन्ने नारासाहित ल्हाछोर फागुन ३, ४ र ५ गते तीन दिन मनाए पनि मुख्य ल्होछार भने ४ गते विषेश कार्यक्रम हुने जनाएको छ ।

यसअघि मुल समारोह समितिले नेपाल सरकारको विक्रम सम्वत अनुसारको पात्रोमा ल्होछारको लागि दिइएको विदा तामाङले मान्ने मन्जुश्री तत्व ज्योतिष पात्रो अनुसार नमिलेको भन्दै विदा सार्न सरकारलाई आग्रह गरेको थियो । सरकारले विदा नसारे पनि आफूहरुको पहलले आगामि दिनहरुको कुनै पनि दुविधा नहुने गरी अगाडि बढ्ने वातावरण बनेको घेदुङका अध्यक्ष गोलेले बताए ।

अबका दिनमा मन्जुश्री पात्रो तामाङ नागरिकको घरघरमा पुर्‍याउने गरी पहल गर्न तथा आएका विवाद समाधानका लागि भएका छलफल तथा बहसहरुले मार्ग प्रशस्त गरेको भन्दै तामाङ घेदुङले नेपाल पन्चांगलाई समावेसी बनाउने अभियानकासाथ दबाव जारी राख्ने जनाएको छ ।

मुल समारोह समितिमा घेदुङसहित लोकतान्त्रिक तामाङ संघ, तामाङ राष्ट्रिय मुक्ति मोर्चा, नेपाल तामाङ संघ, तामाङ सहायता समाज ल्होज्याङ, म्हेन्दो माया युवा समाज, तामाङ सञ्चार समूह, तामाङ डाजाङ, नाङसाल क्लब नेपाल, समेलेङ न्हान, समाखुशी तामाङ परिवार, ओखलढुंगा हृयाङला तामाङ समाज, ओम तामाङ सुखदुख गुठि, कोकोम्हेन्दो सामाज, सि नेपाल, छ्योर्तेन टासि तामाङ गुम्बा, नेपाल तामाङ गान्बागान्सुम रिमठिम, तामाङ समाज सुधार, छिङदोजि परिवारलगायत गरी १ सय २० भन्दा बढी संस्थाहरु आवद्ध छन् ।
तामाङ समुदायका प्रवासी संस्थाहरूले भने, माघ ४ गतेको पर्वलार्इ फागुनमा पुर्याएकोमा आपत्ती जनाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + one =