निर्वाचन स्थगित नहुने निर्वाचन आयोगको स्पष्टिकरण

काठमाडौं, कात्तिक १५ । निर्वाचन आयोगले मंसिर १० र २१ गतेका लागि तोकिएको निर्वाचन कुनैपनि हालतमा स्थगित नहुने स्पष्ट पारेको छ । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचन सर्ने आशंका भइरहेका बेला आयोगले आज कान्तिपथस्थित कार्यलय परिसरमा पत्रकार सम्मेलन गरी कुनैपनि हालतमा तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पारेको हो ।

आयोगले सर्वोच्च अदातलको आदेशको सम्मान गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलग–अलग मतपत्र छाप्ने काम सुरु भइसकेको जानकारी गराउदै निर्वाचनका तयारी अन्तिम चरण पुगेको उल्लेख गरेको छ ।  पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले निर्वाचन समयमै गर्न सरकार र सम्बद्ध सबैलाई सहयोग गर्न आह्वान गर्नुभयो ।  आयोगले मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्न सम्पूर्ण तयारी पूरा भइसकेको पनि जनाएको छ ।


भोली ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १ सय २८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २ सय ५६ ओटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ । यादवले भोली बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आह्वान पनि गर्नुभयो ।  साथै, भोली शीर्षस्थ नेताहरुको समेत उम्मेदवारी दर्ता हुने भएकाले सुरक्षा व्यवस्था बलियो बनाउन आयोगले सुरक्षा निकायलाई निर्देशन दिएको छ ।  यस्तै निर्वाचन आयोगले सर्वोच्चको आदेशसँगै प्रदेश र प्रतिनिधी सभा निर्वाचनका लागि अलग अलग मतपत्र छाप्न सुरु गरीसकेकाले मतदाता शिक्षा कार्यक्रम समेत नयाँ तय गरेको जनाएको छ । आयोगले आचारसंहिताको पूर्ण पालनाका लागि पनि दलहरुलाई आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =