जाजरकोटमा खाद्य स‌ंकट: नुन पनि पाएनन् स्थानीयले

काठमाडौं, माघ ९ । जाजरकोटका ग्रामीण भेगमा खाद्यान्न अभाव सुरु भएको छ। जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकाका विभिन्न गाउँमा खाद्यसंकट पर्न थालेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

आफ्नो उत्पादनले तीन महिनाभन्दा खान नपुग्ने दुर्गम गाउँका बासिन्दा सरकारी अनुदानको चामलसमेत नपाएपछि अभावमा गुज्रन बाध्य भएका छन्।

एक कट्टा चामल १५ सयदेखि २ हजार रुपैयाँमा किनेर गुजारा चलाउने गरेका स्थानीयले त्यही पनि नपाउँदा अप्ठ्यारो परेको बताएका छन्। ‘अनुदानको चामल र आयोडिन नुनसमेत पाएका छैनौं’, जुनीचाँदे– २, अफगानका कालु तिरुवाले भने। यो वर्ष त सरकारले उपलब्ध गराउने अनुदानको चामल देख्नै नपाएको उनले गुनासो गरे।

खाद्य संस्थानको अञ्चल कार्यालय नेपालगन्जको चरम लापरबाहीका कारण अनुदानको चामल लक्षित वर्गसम्म नपुगेको हो। ठेकेदारले दशेरा र पजारु घोगी खाद्य डिपोबाट ढुवानी तथा चामल बिक्री गरिदिँदा दुर्गम भेगका बासिन्दा भोकभोकै परेको तिरुवाले बताए।

दशेरा र घोगी डिपोका लागि प्रतिडिपो हजार क्विन्टल चामलको कोटा निर्धारण गरिएको छ तर ठेकेदारले हालसम्म अनुदानको चामल ढुवानी गरेका छैनन्। यतिबेला जुनीचाँदेका मजकोट, गर्खाकोट, कोर्ताङ, दह र छेडागाड नगरपालिकाका दशेरा, सुवानाउने, पजारु, साल्मा, झाप्रा, कार्की गाउँका बासिन्दा खाद्यान्नको चरम अभाव झेलिरहेका छन्।

उनीहरू थलह, सानाखोला, विराखोला, मोर्क, बालुवा, खारालगायत स्थानीय बजारमा व्यापारीले लगेको महँगो चामल किन्न विवश छन्। जुनीचाँदे गाउँपालिकाका अधिकांश स्थानीय परिवार पाल्नकै लागि कालापहाड (भारतमा) मजदुरी गर्न जानुपर्ने बाध्यता छ।

भाइरल प्रकोपले गाँजिएको यो गाउँपालिकामा अहिले खाद्यान्न अभाव हुन थालेको छ। आफैंले उत्पादन गरेको खाद्यान्न सकिएपछि स्थानीयलाई साँझ–बिहानको छाक टार्न धौधौ भएको छ। कालापहाड गएकाले पैसा नपठाउँदा परिवारलाई गुजारा चलाउनै मुस्किल हुन थालेको छ।

यहाँका अधिकांश गुजराकै लागि भारतको मजदुरीको भर पर्नुपर्ने बाध्यता छ। भारत गएका पुरुषले पठाउने रकमबाटै गुजरा चल्ने महिलाले बताए। तिहारलगत्तै गाउँका सबै पुरुष भारत गएपछि गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्रै छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =