विष्णुमायाका कारण कुमार लिंङ्देनलाई पिरलो
पुस २५, काठमाडौं । पूर्वमा जातीय पहिचानको नाममा राजनीति गर्दै आएका सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनको प्रदेश सांसद् हुने योजना निर्वाचन आयोगले भताभुङ्ग पारिदिएको छ ।
प्रत्यक्ष निर्वाचनमा लड्दा जनताले जमानत पनि जोगाई दिँदैनन् भन्ने बुझेरै समानुपातिकमा आफ्नो नाम सुरुमै राखेर सुरक्षित भएका केन्द्रीय अध्यक्ष लिंङ्देनले आयोगमा पठाएको नाम नै गलत पर्न गएपछि प्रदेश सभासद् कुनै सपना चकानाचुर भएको हो ।
प्रतिनिधिसभा निर्वाचनतर्फ प्रत्यक्ष र समानुपातिक दुवैमा ‘थ्रेसहोल्ड’ समेत कटाउन नसकेपनि प्रदेशसभातर्फ भने समानुपातिकमा ‘थ्रेसहोल्ड’ मत अर्थात् १.५ प्रतिशत मत कटाएर एक जना स्वतन्त्र सांसद पाएको थियो । प्रत्यक्षमा लिङ्देनको पार्टीले एक सिट समेत जित्न सकेको छैन । प्रदेशसभामा एक सिट पाएकोमा आयोगले महिला उम्मेद्वारको नाम पठाउन भनेपछि लिंङ्देनको सभासद् हुने बाटो नै बन्द भएको हो । आयोगको निर्णयपछि यति बेला लिङ्देनलाई ‘प्रेसर’ बढेको छ । ‘लिम्बुवान ल्याएरै मर्ने’ कसम खाएका उनी सभासद् नपाउँदाको पिरलोमा रन्थनिएका छन् ।
क्षेत्रीय राजनीति गर्ने लिम्बुवान जन्य पार्टीहरूमा पदका लागि बारम्बार पार्टी फुटाउने र जुटाउने खेल चलिरहेको अवस्थामा केही केन्द्रीय सदस्यहरूले लिङ्देनलाई ब्यक्तिवादी आरोप नै लगाउँदै पार्टी छाड्ने चेतावनी दिँदै आएका छन् । पार्टी भित्रको रडाको सहेरै समानुपातिकमा उनले आफ्नो नाम सुरुमै राखेका थिए ।
पार्टीले प्रदेशसभामा थ्रेसहोल्ड कटाएपछि धेरैले लिङ्देनलाई ‘सभासद् ज्यू सेवारो’ पनि भनिसकेका थिए । कतिले त ‘लिम्बूको छोरोले नाक राख्यो’ पनि भने । तर, पाएको एउटा सिटमा पनि आयोगले महिलालाई प्राथमिकता दिएपछि लिङ्देनको चुरीफुरी नै हरायो । स्रोतका अनुसार पार्टीबाट महिला नेतृ विष्णुमाया तुम्वाहाम्फेको नाम पठाउने तयारी भएको छ । उनी पार्टीमा ठुलो आर्थिक सहयोग गर्नेमा पर्छिन् ।
ताप्लेजुङकी विष्णुमायाले पार्टीलाई लाखौँ सहयोग गरेको स्रोतको दाबी छ । अहिले त्यही आर्थिक सहयोग गरेको ऋण तिर्नपनि ‘कुमार लिङ्देनले मलाई पठाउनु पर्छ हैन भने पैसा फिर्ता चाहियो’ भन्दै उनी कुर्लने गरेको स्रोतको दाबी छ । ‘पार्टीमा प्रदेशसभामा को जाने विषयमा केही मतान्तर छ तर, तपाईँले भने जस्तो झगडा र हात हालाहालैको अवस्था आएको हैन ।’ एक केन्द्रीय सदस्यले भने ।–हामीले अध्यक्ष नै जानुपर्छ भनेर भनेका हौँ तर, आयोगको नीति नियमपनि मान्नुपर्नेछ । यो विषय छलफलमै रहेको छ
पार्टीका केन्द्रीय अध्यक्ष कुमार लिङ्देनलाई यो विषयमा जानकारी लिनका लागि सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् । मकालु खबरले उनको मोबाइलमा बारम्बार सम्पर्क गरे पनि उनको फोन उठेन । यता विष्णुमायालाई पनि सम्पर्क गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।
कुमार लिङ्देनको पार्टी विगत १२ वर्षदेखि पूर्वमा जातीय पहिचानका आधारमा लिम्बुवान राज्य घोषणा गरिनुपर्दछ भनेर आन्त्दोलनरत छ । विगतमा लिम्बुवान राज्यकै लागि लडेको भन्दै पूर्वमा ‘चन्दा’ आतङ्क मच्चाउँदा उनको पार्टी जनताका माझ अलोकप्रिय बनेको थियो ।