किर्ते हस्ताक्षर गरी वाणिज्य बैङ्कबाट रकम झिकेपछि…

असाेज २९, सप्तरी । सप्तरीको प्रसवनी–४ मा पुल निर्माणसम्बन्धी गठित उपभोक्ता समितिका पदाधिकारीद्वारा चेकमा किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैङ्क राजविराजबाट गैरकानूनीरूपमा रकम झिकेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीमा छानबिन गर्न माग गरिएको छ । सप्तरीको कुष्णसवरण गाउँपालिका–४ स्थित कलिया खोलामा पुल निर्माणका लागि गठित कलिया खोला पुल उपभोक्ता समितिका अध्यक्ष वैद्यनाथ यादव र कोषाध्यक्ष उमदादेवी यादवले चेकमा सचिवको नक्कली हस्ताक्षर गरी रकम झिकेको विषयमा छानबिन गर्न माग गरिएको हो ।

सो समितिका सचिव देवनारायण यादवले समितिका अध्यक्ष वैद्यनाथ र कोषाध्यक्ष उमदादेवीले चेकमा आफ्नो किर्ते हस्ताक्षर गरी रकम झिकेको आरोपसहित अख्तियारमा लिखित उजुरी दिएको बताए । पुल निर्माणका लागि समितिका अध्यक्ष, कोषाध्यक्ष तथा सचिवको संयुक्त खाता रहेको बताइएको छ । पुल निर्माणमा अनियमितता र गुणस्तरहीन सामान प्रयोग गरेको र पुल निर्माणको बिल धेरै बनाएकाले सचिवले चेकमा हस्ताक्षर गर्न नमानेपछि अध्यक्ष तथा कोषाध्यक्षले किर्ते हस्ताक्षर गरी राष्ट्रिय वाणिज्य बैङ्क राजविराजबाट रु छ लाख ५५ हजार ४३१ झिकेको सचिव देवनारायणको आरोेप छ ।

सो सम्बन्धमा कारबाहीका लागि इटहरीस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन कार्यालय सप्तरी र जिल्ला समन्वय समिति सप्तरीमा छानबिन गर्नका लागि माग गरिएको हो । करिब रु १३ लाखको लागतमा निर्माण भएको सो पुल निर्माण भएको एक महिना नपुग्दै भत्किन थालेको स्थानीय बासिन्दाको भनाइ छ । रु १३ लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिको दाबी भए पनि सो पुल निर्माणमा रु पाँच लाख पनि खर्च नभएको सचिव यादवको दाबी छ ।

जिल्ला समन्वय समिति सप्तरीका स्थानीय विकास अधिकारी सुदेव पोखरेलको निर्देशनमा सो पुल निर्माण भएको थियो । यसैबिच अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरी, पूर्वाञ्चलका प्रमुख कालीप्रसाद पराजुलीले सो उजुरीका आधारमा छानबिन सुरु गरिएको बताए । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 1 =