सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन भन्दै रिचाले दिइन यस्तो जवाफ
मङ्सिर १२, काठमाडाैं । आइतबार बेलुकीदेखि चर्किएको चलचित्र ‘छक्का पन्जा’ टिम र नायिका ऋचा शर्माविचको वाकयुद्द अझै सकिएको छैन । एकले जवाफ दिने र अर्काले फेसबुक मार्फत नै फर्काउने क्रम चलिरहेको छ । यसले चलचित्र क्षेत्रलाई फाइदा भन्दा घाटा नै बढी भएको छ । बिस्तारै, फराकिलो बन्दै गएको चलचित्र क्षेत्र चलचित्रकर्मी बिच कै युद्धले साँघुरिने कुरामा दुइमत छैन ।
चलचित्र ‘छक्का पन्जा’की निर्देशक दीपाश्री निरौला, कलाकारहरू दीपकराज गिरी, प्रियंका कार्की, वर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारी लगायतले ऋचालाई ‘गेट बेल सुन’ भन्दै स्टाटस लेखेपछि यसको पक्ष र विपक्षमा चलचित्रकर्मी र दर्शक २ धारमा देखिएका हुन् ।
नायिका ऋचा शर्माले पनि फेसबुक मार्फत चलचित्रको टिमलाई जवाफ दिएकी छिन् । उनले, आफूलाई दर्शकलाई ‘मूर्ख’ भन्ने अधिकार कतैपनि नभएको भन्दै त्यो विषयमा नबोलेको बताएकी छिन् । साथै, उनले चलचित्रमा महिला हिंसाको विषयलाई हाँस्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो बिचार राख्न कहिल्यै पनि डग मगाउने छैन भनेकी छिन् ।
साथै, उनले अगाडि लेखेकी छिन्, ‘चलचित्रमा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउँन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेको लोभमा कुनै पनि महिलाले यति धेरै थप्पड खाँदैनन् ।’
उनले स्टाटसमा लेखेकी छिन्, ‘कहिलेकाही आफूलाई सच्याउनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भए पनि उसको जग बलियो हुँदैन । म मा पनि धेरै कमजोरी छन् र म सुन्छु । आफ्नो कमजोरी औल्याउँछु, सच्याउँछु, अनि राम्रो बन्ने प्रयास जीवन भर गरिरहन्छु ।’